सुदूरपश्चिम

दलित सङ्घका अध्यक्ष कोली कांग्रेसबाट निष्कासित

१४ कात्तिक, बैतडी । दलित सङ्घ बैतडीका अध्यक्ष रमेश कोली नेपाली कांग्रेसबाट निष्कासित भएका छन् । कांग्रेस बैतडीले कोलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरेर निष्कासन गरेको हो । कांग्रेस बैतडीका अनुशासन समिति संयोजक देवराज जोशीका अनुसार कोलीलाई आगामी ५ वर्षसम्म पार्टीको साधारण सदस्यसमेत नरहने गरेर निष्कासन गरिएको हो । पार्टीको निर्णय विपरीत स्वतन्त्र उम्मेदवारको मुख्य प्रचारकको भूमिकामा रहेका कोलीलाई स्पष्टीकरण सोध्दासमेत स्पष्टीकरण नदिएकाले पार्टीको विधानअनुसार निष्कासन गरिएको जनाएको छ ।

पार्टीको आधिकारिक उम्मेदवारको विरुद्धमा लागेको, बागी उम्मेदवारलाई सहयोग गरेको र पार्टीको आचारण र अनुशासनविरुद्ध विभिन्न मिडियामा बोलेको भन्दै कोलीलाई निष्कासन गरिएको कांग्रेस बैतडीले जनाएको छ । 

यस्तै नेपाली कांग्रेसका पाटन नगरसभापति मानबहादुर ऐरलाई पनि स्पष्टीकरण सोधिएको छ । पार्टीका आधिकारिक उम्मेदवारका विरुद्ध ‘बागी’उम्मेदवारलाई सहयोग गरेको भन्ने प्रमाण प्राप्त भएकाले तीन दिनभित्र स्पष्टीकरण पेश गर्न भनिएको हो । पार्टीको विधान विपरीत कार्य गरेको हो वा होइन ? त्यस विषयमा कात्तिक १६ गतेभित्र स्पष्टीकरण पेस गर्न भनिएको छ । स्पष्टीकरण पेस नगरेमा साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट कारवाही गरिने कांग्रेस बैतडीले जनाएको छ । 

कोली यसअघि नै प्रदेशसभा क्षेत्र नं १ मा स्वतन्त्र उम्मेदवार रहेका हरिमोहन भण्डारीको पक्षमा खुलेर लागेका थिए भने ऐरले आइतबार पत्रकार सम्मेलनमार्फत आफू स्वतन्त्र उम्मेदवारको पक्षमा रहेको बताएका थिए । एक मात्र क्षेत्र रहेको बैतडीमा प्रतिनिधिसभाका लागि गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य नरेन्द्रबहादुर कुँवर, प्रदेशसभा क्षेत्र नं १ मा नेपाली कांग्रेसका उपसभापति वीरबहादुर विष्ट, प्रदेशसभा क्षेत्र नं २ मा पूर्वजिल्ला सभापति शिवराज भट्ट चुनावी मैदानमा रहका छन् ।