सूचना प्रविधि

राससको सेवालाई थप गुणस्तरीय र विश्वसनीय बनाउनुपर्छ : सचिव डा. अर्याल

१५ कात्तिक, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले मिडियाको पनि मिडियाको रुपमा रहेको राष्ट्रिय समाचार समिति (रासस) को सेवालाई थप व्यावसायिक, गुणस्तरीय र विश्वसनीय बनाउनुपर्ने बताएका छन् ।

यहाँ आज आयोजित ‘राष्ट्रिय समाचार समिति (रासस) कर्मचारी सेवा प्रवेश अभिमुखीकरण’ कार्यक्रममा सचिव डा अर्यालले रासस समाचार बनाउने ‘न्यूज मेकर’ संस्था भएकाले यसबाट प्रवाह हुने सेवा राष्ट्रिय जिम्मेवारी र दायित्वबोधलाई ध्यानमा राखेर पेशागत व्यवसायिकताका साथ क्रियाशील हुन कर्मचारी पत्रकारलाई आग्रह गरे । सचिव डा अर्यालले भने,“ अरु सञ्चार माध्यमको प्रकाशन, प्रशारण गर्ने आफ्नै ढाँचा र पद्दति होलान् तर राससको भूमिका भनेको समाचार बनाउने र सञ्चार माध्यमलाई उपलब्ध गराउने हो, विश्वका एपी, एएफीजस्ता समाचार समितिको भुमिकाजस्तै राससले पनि मिडियाको मिडियाको रुपमा काम गरिरहेको छ, त्यसैले राससले दिने सेवालाई अझ गुणस्तरीय, निष्पक्ष र विश्वसनीय तुल्याउन ध्यान दिनुपर्छ ।”

सचिव डा अर्यालले यसले उत्पादन गर्ने र प्रवाह गर्ने समाचार सामग्री विश्वसनीय र प्रमाणिकतामा आधारित हुन जरुरी रहेको भन्दै सत्य, तथ्य र निष्पक्ष समाचार उत्पादनतर्फ ध्यान दिन आग्रह गरे । “राससले पठाएका सबै समाचार विश्वसनीय हुन्छन्, तथ्यसँग नजिक हुन्छन् र यसले आमरुपमा समाजका, जनताका र विकास निर्माणका सबै कुरा समेटेका हुन्छन् भन्ने विश्वास दिलाउन सक्नुपर्छ र त्यो विश्वास अहिलेसम्म जीवित छ, त्यसलाई अझ बढी जीवन्त बनाउनेतर्फ रासस सक्रिय हुनेछ ।”

राससको समाचार सामग्रीमा भाषागत शुद्धता, प्रस्तुति शैली, विषयको छनोटजस्ता विषयमा सुधार गरी प्राप्त आँकडाको विश्लेषणात्मक ढङ्गले प्रस्तुत गरिनुपर्नेमा उनले जोड दिए । उनले आम नागरिकले खोजका समाचार सामग्री सरल र सहज रुपमा पाठकसमक्ष पु¥याउन राससको स्रोतसाधन र जनशक्तिको उपयोग गर्दै जनअपेक्षालाई ध्यानमा दिएर सेवा प्रवाहलाई प्रभावकारी बनाउन आग्रह गरे ।

राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राष्ट्र र जनताको आकाङक्षासँग जोडिएको मिडियाको पनि मिडियाको रुपमा रहेको राससले संस्थाको छवि र गौरबलाई उचो बनाउने गरी आफ्ना समाचार सामग्रीलाई सत्यतथ्य, वस्तुगत र निष्पक्ष ढङ्गले प्रवाह गर्नेतर्फ ध्यान दिनुपर्ने बताए । अध्यक्ष झाले भने,“ ६१ वर्षे राससको जगमा अब ‘फर्निसिङ’ जरुरी छ, फर्निसिङ मात्रै होइन ‘इन्टेरियर र एक्सट्रनल डेकोरेशन’ पनि जरुरी छ, सोही अनुरुप राससको सेवालाई विशिष्टिकृत तुल्याउन जरुरी छ ।”

उनले लोकसेवा आयोगमार्फत छनोट भएर आएका नयाँ पत्रकार कर्मचारीमाथि राससको भविष्य बनाउने दायित्व रहेको बताए । उनले आफ्नो सीप, ज्ञानको उपयोग गरी राससको श्री वृद्धिका लागि सक्रिय हुन उनीहरुलाई आग्रह गरे । अध्यक्ष झाले राससको राष्ट्रिय छविलाई कसरी अन्तर्राष्ट्रिय रुपमा स्थापित गर्न सकिन्छ त्यसतर्फ ध्यान दिन पनि आग्रह गरे । उनले भने,“ सूचना र सञ्चारको आजको दिनमा धेरै महत्व छ, सूचनाको लाभ व्यक्तिगत रुपमा पनि लिनुपर्छ, सूचनाको दुरुपयोग नगरी सत्यतथ्य र वस्तुनिष्ट ढङ्गले सामग्री प्रस्तुत गरिनुपर्छ ।”

उनले राससको विश्वसनीय पक्षलाई जोगाएर संस्थाको सेवालाई छिटोछरितो, सत्यतथ्य र विश्वसनीय तुल्याउन यहाँ कार्यरत पत्रकार कर्मचारीलाई आग्रह गरे । राससका कार्यकारी व्यवस्थापक शीतलप्रसाद महतोले राससको जिम्मेवारीलाई ध्यानमा राखी इमान्दारीपूर्वक सत्यतथ्य र निष्पक्ष ढङ्गले व्यावसायिक कौशलता प्रस्तुत गर्न कर्मचारीलाई आग्रह गरे । रासस कर्मचारी सङ्घका निमित्त अध्यक्ष पवित्रा गुरागाई, रासस कर्मचारी युनियनका अध्यक्ष कालिका खड्का, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन राससका अध्यक्ष प्रेमप्रसाद उपाध्यायले राससको छवि र गरिमालाई उचो बनाउने गरी आफ्नो व्यावसायिक क्षमता प्रस्तुत गर्न आग्रह गरे । दुई दिने अभिमुखिकरण कार्यक्रमा पत्रकार तथा कर्मचारीलाई राससको संस्थागत संरचना, काम र सेवाबारे जानकारी दिइनेछ ।