गण्डकी प्रदेश

मतदाता शिक्षा दिँदै स्वयंसेविकाः

२० कात्तिक, बलेवा । बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराकी स्वास्थ्य स्वयंसेविका खिमा थापा शनिबार बिहानै झोलाभरी मतपत्र, स्वस्तिक छाप र अन्य सन्देशमूलक सूचना बोकेर हिँडिरहेको अवस्थामा भेटिए ।

सधैँजसो जनस्वास्थ्यका अभियानको सन्देश बोकेर आफ्नो टोलका घर–घरमा पुग्ने उनले यसपटक भने नौलो अभियान लिएर घरदैलो गरिरहेका छन् ।

जनस्वास्थ्यका अभियान चलेका बेला थापाको झोलामा सचेतनामूलक सामग्री हुन्थे । सुत्केरी आमा, नवजात शिशु, बृद्धबृद्धाको हेरचाह र बयस्कलाई विभिन्न रोगबाट जोगिनका लागि सिकाउँदै हिँड्ने थापा यस पटक मताधिकार कसरी प्रयोग गर्ने भनेर घरदैलोमा पुगेका छन् । उनी जस्तै जिल्लाभरिका महिला स्वास्थ्य स्वयंसेविकाको दिनचर्या शुक्रबारदेखि भने मतपत्र, स्वस्तिक छाप, निर्वाचनका आयोगका प्रचार सामग्रीसँग गाँसिएको छ । स्वयंसेविकाहरु घर–घरमा पुग्छन्, भेटेकालाई बदर नहुनेगरी मतदान गर्न सिकाउँछन् । मताधिकारको विषयमा सचेत गराउँछन् र आफ्नो बाटो लाग्छन् ।

‘‘पहिलोपटक मतदाता शिक्षामा सहभागी भएँ, मलाई त रमाइलो लाग्यो, सबैलाई भेट्न पनि पाइने, उनीहरुले भनेको सुन्न पनि पाइने’’ स्वयंसेविका थापाले भने ‘‘मेरो त सिक्ने, सिकाउने र गाउँठाउँको वातावरण बुझ्ने सबै काम भइरहेको छ।’’ मतदातालाई मतदान प्रक्रियाबारे सचेत गराउने उद्देश्यले बागलुङका सबै वडामा मतदाता शिक्षा सञ्चालन गरिएको छ । निर्वाचन आयोगको निर्देशनअनुसार जिल्लाका दशवटै स्थानीय तहले आ–आफ्नो पालिकाका सबै वडामा कार्यरत स्वास्थ्य स्वंयमसेवीकालाई छनोट गरी मतदाता शिक्षाका लागि जनशक्ति तयार गरेका थिए ।

जिल्लाका ८५ वटै वडाका टोलटोलमा शुक्रबारदेखि एकसाथ मतदाता शिक्षा कार्यक्रम सञ्चालन भएको निर्वाचन कार्यालयका प्रमुख यज्ञ रिजालले जानकारी दिए । मतदाता शिक्षाका लागि छनोट भएका स्वयंसेविकालाई मतदाता शिक्षाका लागि तालिम प्रदान गरिएको र सिकाइ सामग्री सम्बन्धित वडासम्म पु¥याइएको उनको भनाइ थियो । उक्त कार्यालयले स्थानीय तहका सम्पर्क व्यक्तिमार्फत स्वयंसेवीकालाई मतदाता शिक्षासम्बन्धी तालिमका लागि सहजीकरण गरेका थिए ।

मतदाताको मतदान प्रक्रियामा सहभागिता बढाउने तथा मत बदर हुन नदिने उद्देश्यले निर्वाचन हुनअघि आयोगले मतदाता शिक्षा सञ्चालन गर्दै आएको छ ।
जनप्रतिनिधि छनोटको विषय देश र नागरिकको भविष्यसँग जोडिएकाले सदर मत बढाउने उद्देश्यले मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी ढङ्गबाट सञ्चालन गर्नु आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी रमेश ढकालले बताए ।

यस कार्यक्रमलाई प्रभावकारी बनाउन आयोगको निर्देशिकाअनुसार जिल्लास्तरीय, पालिकास्तरीय र वडास्तरीय समिति गठन गरिएको छ । निर्वाचन कार्यालयका प्रमुख रिजालका अनुसार जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको र सो समितिको सदस्यमा जिल्ला समन्वय समितिका सदस्य, सदरमुकामस्थित स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, पत्रकार महासङ्घका प्रतिनिधि तथा जिल्ला निर्वाचन अधिकारी सदस्य–सचिव रहने व्यवस्था छ ।

कार्यक्रम सञ्चालन गर्दा लाग्ने खर्च तथा आवश्यक साधन, स्रोत र जनशक्तिको व्यवस्थापन सम्बन्धित स्थानीय तहले गर्नुपर्ने व्यवस्था रहेको छ । मतदाता शिक्षा कार्यक्रम निर्देशिकाअनुसार स्थानीय तहका वडामा १५ दिनसम्म सञ्चालन हुने मतदाता शिक्षा कार्यक्रमका लागि समन्वय गर्न मतदाता शिक्षा समन्वय समिति (स्थानीय तह स्तर) र मतदाता शिक्षा सञ्चालन समिति (वडास्तर) को व्यवस्था गरिएको छ । स्वयंसेवीकालाई आवश्यक तालिम र सामग्री उपलब्ध गराई कार्यक्षेत्रमा पठाइएको निसीखोला गाउँपालिका निर्वाचन सम्पर्क व्यक्ति पुरुषोत्तम गौतमले जानकारी दिए ।

स्थानीय तहमा सम्बन्धित स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको संयोजकमा चार सदस्यीय र वडा तहमा वडासचिवको संयोजकत्वमा तीन सदस्य समन्वय समिति गठन गरिएको छ । समितिले निर्वाचन शिक्षाका लागि आवश्यक समन्वय तथा अनुगमनको काम गर्नेछ । स्वयंसेवीकाले मतदान गर्ने, मतपत्र मतपेटीकामा खसाल्ने, मतदान केन्द्रसम्म पुग्नेलगायत निर्वाचन प्रक्रियाको बारेमा मतदातालाई जानकारी दिनेछन् ।

यस्तै जिल्लाका दशवटै स्थानीय तहले निर्वाचन सम्पर्क व्यक्ति पनि तोकेका छन् । काठेखोला गाउँपालिकाले मनोज कार्की, बागलुङ नगरपालिकाले ससबहादुर पुन, निसीखोला गाउँपालिकाले पुरुषोत्तम गौतम, तमानखोला गाउँपालिकाले मुना विश्वकर्मा, ढोरपाटन नगरपालिकाले चण्डरीराज पौडेललाई सम्पर्क व्यक्तिको रुपमा खटाएको हो । 

बडिगाड गाउँपालिकाले पूर्णबहादुर घर्ती, ताराखोला गाउँपालिकाले जीतबहादुर सुनार, गलकोट नगरपालिकाले रुद्रनारायण सापकोटा, बरेङ गाउँपालिकाले सूर्यप्रसाद शर्मा र जैमिनी नगरपालिकाले पृथ्वीबहादुर थापालाई निर्वाचन सम्पर्क व्यक्ति तोकेका छन् ।