सुदूरपश्चिम

नयाँ मतदातामा कौतुहलता संगै उत्साह

२५ कात्तिक, सुदूरपश्चिम । १९ वर्षीया सञ्जिता राना थारू आउने चुनावमा मतदान गर्न आतुर छन् । गाउँमा मत माग्न आउने उम्मेदवारले सबैसँग सहयोग गर्न आग्रह गरिरहँदा देखिएको माहोल र जागेको कौतुहलले उनी मतदान गर्न आतुर देखिएका हुन् ।

“मतदाता नामावलीमा आफ्नो नाम समावेश हुँदा पहिलो पटक भोट हाल्ने अवसर पाउँदै छु”, उनले भने, “निःशुल्क र गुणस्तरीय शिक्षा, पढेकालाई रोजगारीको व्यवस्था गर्न सक्ने र जनताको समस्या समाधानका लागि पहल गर्ने उम्मेदवारलाई भोट हाल्ने कुरा भएको छ ।”

उनले थपे, “आफूसँगैका साथी सङ्गिनीबीच चुनावका बारेमा छलफल भइरहेको छ ।” लालिता जोशी पनि नयाँ मतदाता हुन् । उनले आउने मङ्सिर ४ गते हुने निर्वाचनमा कसलाई, किन मतदान गर्ने भन्नेबारेमा टोल–बस्तीमा छलफल भइरहेको बताए ।

“मतदान गर्दा कति मतपत्रमा मत सङ्केत गर्नुपर्ने, कति उम्मेदवारलाई मत दिने भन्नेबारेमा आफ्नो टोलमा सल्लाह हुन थालेको छ, चुनावको दिन घरका अभिभावकको पनि सल्लाह लिएर भोट हाल्ने योजनामा धेरै छौँ”, उनले भने, “चुनावको दिन नजिकिँदा टोलमा एकखालको उत्सुकता पनि जागेको छ ।”

मतदाता शिक्षा कार्यक्रम सञ्चालनका क्रममा प्रदेश निर्वाचन कार्यालयले केही दिनअघि कैलाली निर्वाचन क्षेत्र–५ को बेला गाउँमा गरेको नमूना मतदानमा वयस्क मतदातासँगै सञ्जिता, ललितासहितका नयाँ मतदाता उत्सुक हुँदै सहभागी भएका थिए ।

नमूना मतदानमा ६६ मत खसेकामा ६३ मत सदर भएका थिए । पहिलो हुने निर्वाचन प्रणालीतर्फ तीन मतपत्रमा गरिएको मत सङ्केत बदर भएको थियो । “मतदान गर्न पाउँदा नयाँ अनुभव भयो”, मतदान गरेपछि तारा चौधरीले भने, “नमूना मतदान भएकाले आफूहरूको मताधिकार लागू हुने कुरा भएन, अब मङ्सिरमा गरिने मतदानमा आफ्नो मत काम लाग्ला ।”

स्थानीय तहको निर्वाचनअघि नै मतदाता नामावलीमा नाम समावेश भएर पनि घरायसी कामले बाहिर जानुपरेको कारण मतदान गर्न नपाएकी कल्पना थापामगर पनि आउने चुनावमा पहिलोपटक मतदान गर्दैछन् ।

स्थानीय तहको निर्वाचनका बेला आफू घरको कामले पोखरातर्फ जानुपर्दा मतदान गर्न नपाए पनि यसपालि मतदानको अवसर जुरेको उनले बताए। कतिपयले आउन लागेको निर्वाचनमा विकासमा चासो दिने र महँगी नियन्त्रणमा पहल गर्ने सक्षम उम्मेदवारलाई भोट जाने बताएका छन् ।

“सबै उम्मेदवार चुनावको बेला जनताका माग पूरा गरिदिने अश्वासन दिएर मत माग्छन्, जितेर गएपछि फर्किँदैनन्”, कल्पनाले भने, “मत माग्न आउने उम्मेदवारलाई अहिले हुन्छ भनिन्छ, तर भोट हाल्ने बेलामा विचार गरिन्छ ।”

निर्वाचनमार्फत प्रतिनिधिसभा र प्रदेशसभाका नयाँ प्रतिनिधि चुनिने भएपछि सर्वसाधारण उत्साहित देखिएका छन् । नेपालको संविधान २०७२ कार्यान्वयनमा आएपछि दोस्रो कार्यकालका लागि नयाँ जनप्रतिनिधि चुन्ने अवसर आउन लाग्दा मतदाता खुसी देखिएको स्थानीय प्रह्लाद रानाले बताए ।

उनले भने “जनप्रतिनिधिबाट जनताका धेरैजसो काम नभइरहेको भन्ने गुनासो आउने गरेकाले पनि जनता मतदान गरेर आफ्ना नयाँ प्रतिनिधि चयन गर्न आतुर छन् ।”
प्रदेश निर्वाचन कार्यालय कैलालीका अनुसार गत वैशाखको स्थानीय तहको निर्वाचनपछि जिल्लामा १० हजार तीन सय ८९ मतदाता थपिएका छन् । “नयाँ थपिएकामध्ये झण्डै दश प्रतिशत मतदाताले पहिलोपटक मताधिकार पाउन लागेको अनुमान छ”, प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले भने ।
प्रतिनिधिसभाका पाँच निर्वाचन क्षेत्र रहेको यो जिल्लामा जम्मा मतदाता पाँच लाख ३५ हजार पाँच सय १४ मतदाता पुगेका छन् । यीमध्ये महिला दुई लाख ७३ हजार आठ सय ८३, पुरुष दुई लाख ६१ हजार छ सय २० र अन्य (तेस्रो लिङ्गी) ११ मतदाता छन् ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्रको हिसाबले क्षेत्र–१ मा एक लाख छ हजार सात सय तीन, क्षेत्र–२ मा एक लाख चार हजार नौ सय छ, क्षेत्र–३ मा एक लाख सात हजार छ सय ५९, क्षेत्र–४ मा एक लाख १० हजार चार सय ५३ र क्षेत्र नं ५ मा एक लाख पाँच हजार सात सय ९३ मतदाता छन् । प्रतिनिधिसभाका लागि जिल्लाका पाँच निर्वाचन क्षेत्रमा ४८ उम्मेदवार र प्रदेशसभाका १० निर्वाचन क्षेत्रका लागि ७८ जनाबीच चुनावी प्रतिस्पर्धा हुँदैछ ।