कर्णाली प्रदेश

डोल्पा र सल्यानमा गठबन्धन र एमाले बीचमा प्रतिस्पर्धा

२७ कात्तिक, कर्णाली । आसन्न मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको चुनावी सरगर्मी यतिबेला कर्णालीमा निकै बढिरहेको छ । दल तथा उम्मेदवारले आफ्नो चुनावी अभियानलाई तीव्र बनाउँदै लगेका छन् ।

निर्वाचनमा कर्णालीका सबै जिल्लामा गठबन्धन दल र नेकपा (एमाले)बीच नै प्रतिस्पर्धा देखिन्छ । सल्यानमा गठबन्धन दलका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) पार्टीका उपमहासचिव प्रकाश ज्वाला छन् भने एमालेले राजेन्द्रवीर रायलाई उम्मेदवार बनाएको छ ।

स्थानीय तहको निर्वाचनको मतपरिणामलाई आधार मान्दा सल्यानमा नेपाली कांग्रेसको ३३ हजार छ सय १६, मओवादी २६ हजार सात सय १३, एमालेको २६ हजार छ सय २८ र नेकपा (एकीकृत समाजवादी)को नौ हजार चार सय ६७ मत छ । एक लाख ५७ हजार सात सय एक मतदाता सङ्ख्या रहेको यस जिल्लामा गठबन्धनका साझा उम्मेदवार ज्वाला जित्नेमा ढुक्क छन् ।

वि.संं २०५१, २०५६, २०७० र २०७४ सम्म चुनाव जितेर सल्यानमा राम्रै छवि कायम गरेका उनले यसपटक पनि आफूले चुनाव जितिसकेको र औपचारिक घोषणा हुन मात्र बाँकी रहेको जिकिर गरे । उनले भने, “सल्यानको विकास र समृद्धिका लागि मैलै गरेको कामलाई यहाँका मतदाताले राम्रोसँग पहिचान गर्न सक्नु नै मेरो जित हो ।”

एमालेका उम्मेदवार रायले आफ्नो व्यक्तित्व, भ्रष्टाचार नगर्ने सङ्कल्प र परिवर्तित जनताको मत नै यसपटकको चुनाव जित्ने मुख्य आधार भएको दाबी गरे ।

डोल्पामा पनि गठबन्धनमा साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य धनबहादुर बुढा आफ्नो जित हुनेमा ढुक्क छन् । वि.सं २०७० संविधानसभा तथा २०७४ को प्रतिनिधिसभा सदस्य जितेका उनले तेस्रोपटक पनि आफ्नो जित सुनिश्चित रहेको जनाए ।

डोल्पा जिल्लाको स्थानीय तहको मतपरिणाम नेकपा (माओवादी केन्द्र)को चार हजार आठ सय ५५, एमालेको चार हजार पाँच सय ४५, कांग्रेसको तीन हजार ६९ र नेकपा (एकीकृत समाजवादी)को एक हजार तीन सय ३४ छ । डोल्पामा २२ हजार चार सय ४० मतदाता सङ्ख्या छ ।

उनका प्रतिस्पर्धी एमालेका गणेशबहादुर शाहीले पछिल्लो समयमा एमालेप्रति जनताको आशा बढ्दै गएकाले जित आफ्नो पोल्टामा पर्ने जनाए । “गठबन्धनलाई नै चिरेर मैले चुनाव जित्छु”, उनले भने, “मतदाताले मेरो काम हेर्न चाहिरहेका छन् ।”

प्रतिनिधिसभा सदस्यका लागि डोल्पामा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अङ्गतकुमार बुढा, नेकपा माक्र्सवादी (पुष्पलाल)बाट हर्कबहादुर ठकुल्ला र स्वतन्त्रबाट वीरबहादुर रोकाय पनि चुनावी मैदानमा छन् ।

सल्यान प्रदेश (१) मा गठबन्धन दलका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)बाट भीमप्रकाश शर्मा र एमालेका कुलबहादुर गिरी नै प्रतिस्पर्धी देखिएका छन् । उनले एक्लै जित्न सक्ने अवस्था हुँदै गर्दा गठबन्धन जोडिएपछि आफ्नो जित सुनिश्चित भएको बताए । यद्यपि गिरीले गठबन्धनको हाउगुजी भ्रममात्र भएकाले जित आफ्नो हात पर्ने तर्क गरे ।

प्रदेश (२) क्षेत्रमा गठबन्धनका साझा उम्मेदवार कांग्रेसका सुरेश अधिकारी र एमालेका उम्मेदवार गुलाबजङ्ग शाहले टक्कर दिइराखेका छन् । उनी वि.सं २०७४ को प्रदेशसभा सदस्यमा विजयी भएका थिए । यद्यपि कांग्रेसका निर्मल सिंहले बागी उम्मेदवारी दिएकाले जिन सुनिश्चत गर्न गठबन्धनका उम्मेदवारलाई चुनौती बढेको छ । त्यसको फाइदा लिएर आफू जित्ने दाउमा भने एमाले छ ।

सल्यान (१) क्षेत्रमा बागचौर, दार्मा, कुमाख सिद्ध कुमाख गाउँपालिका, शारदा नगरपालिकाको १४ र १५ र बनगाड–कुभिण्डे नगरापलिकाका १–७ वडा पर्दछन् । त्यस्तै (२) क्षेत्रमा कालीमाटी, त्रिवेणी, कपुरकोट, छत्रेश्वरी गाउँपालिका, शारदा नगरपालिका १–१३ र वनगाड–कुपिण्डे नगरपालिकाका ९–१२ वडा पर्दछन् ।

डोल्पा क्षेत्र (१)मा गठबन्धन दलका साझा उम्मेदवार कांग्रेसका दीपेन्द्रबहादुर शाही र एमाले शेरबहादुर बुढा चुनावी प्रतिस्पर्धामा छन् । एक्लाएक्लै लड्दा जित्न सक्ने क्षमता बनाएको कांग्रेसलाई गठबन्धनले जित सहज बनाएको उनले बताए।

एमालेका बुढाले भने जस्तोसुकै गठबन्धन भए पनि आफ्नो जित सुनिश्चित हुने जिकिर गरे । त्यस्तै क्षेत्र नं (२) मा गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का बीरबहादुर शाही र एमालेका धनचन्द्र बैजी चुनावी प्रतिस्पर्धा हुन्। राप्रपाका बौद्धसिंह कठायतलाई प्रतिस्पर्धी मानिए पनि शाहीले आफ्नो जित सुनिश्चित रहेको दाबी गरे । एमालेका बैजीले जनताले आफूलाई अगाडि सार्ने मत व्यक्त गरे।

डोल्पा प्रदेश क्षेत्र (१) मा काइके, छार्काताङ्सोङ र डोल्पोबुद्ध गाउँपालिका तथा ठूलीभेरी नगरपालिका रहेका छन् भने प्रदेश क्षेत्र (२)मा त्रिपुरासुन्दरी नगरपालिका, शे–फोक्सुण्डो, मुड्केचुला र जगदुल्ला गाउँपालिकाका रहेका छन् ।

निर्वाचन क्षेत्र १ भएको सल्यानमा प्रतिनिधिसभा सदस्यका लागि गठबन्धन दल, नेकपा (एमाले), राप्रपा, नेकपा (माले) र दुई स्वतन्त्र गरी छ र डोल्पामा एक स्वतन्त्रसहित पाँच उम्मेदवार चुनावी मैदानमा उत्रेका छन् । सल्यानबाट (१) र (२) प्रदेशसभा सदस्य निर्वाचनका लागि तीन स्वतन्त्रसहित ११ र डोल्पा (१) र (२) प्रदेशसभा सदस्यका सात उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

सल्यान र डोल्पाका दुवै जिल्लामा गठबन्धन दल, एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमुक्ति पार्टी, नेकपा माक्र्सवादी (पुष्पलाल) र नेकपा (माले)लगायतका पार्टीले यो चुनावमा भाग लिएका छन् ।