प्रदेश 1

प्रदेश नं १ कांग्रेस संसदीय दलको नेतामा १८ मतसहित थापा निर्वाचित, देउवा पक्षका अर्यालले ल्याए २ मत

१५ पुस, काठमाडौँ । प्रदेश नं १ को नेपाली कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित भएका छन् । उनी कुल १८ मत प्राप्त गरी विजयी भएका हुन् । थापाका निकटतम् प्रतिद्वन्द्वी प्रदेशसभा सदस्य केदार कार्कीले नौ तथा अमृत अर्यालले दुई मत प्राप्त गरेका छन् ।

निर्वाचन प्रक्रिया अनुरुप आज बिहान नौ बजेदेखि १० बजेसम्म मतदान भएको थियो । प्रदेश १ मा कांग्रेसको कुल २९ सदस्य रहेका छन् । नेता थापा नेपाली कांग्रेस प्रदेश नं १ का सभापतिसमेत हुन् । निर्वाचन नेपाली कांग्रेस प्रदेश नं १ का उपसभापति रमेशजङ्ग रायमाझीको संयोजकत्वमा भएको थियो ।

निर्वाचनपछि दलका नेता थापाले प्रदेश नं १ का नामकरण गर्ने पहिलो प्राथमिकता रहेको भन्दै कांग्रेसले प्रदेशमा प्रतिपक्षको भूमिकाबाट रचनात्मक भूमिका निर्वाह गर्ने धारणा राखे । उनले सत्तापक्षको असल कामको समर्थन एवं प्रशंसा गर्ने र गलत कामको विरोध गर्ने धारणा राख्दै कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले प्रजातान्त्रिक मूल्य र मान्यताको आधारमा चल्ने विचार व्यक्त गरे । थापा काँग्रेस नेता कृष्ण सिटौला पक्षका हुन् भने अर्याल काँग्रेस सभापति शेरबहादुर देउवा र प्रदेश नम्बर १ मा काँग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्की निकट मानिन्छन् । केदार कार्की भने बरिष्ठ नेता डा शेखर कोईराला निकट हुन् ।