खेलकुद

आर्मी र पुलिसलाई दोहोरो सफलता

२४ पौस, काठमाडौं । विभागिय त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा महिला र पुरुष दुवै तर्फ जित हात पार्दै दोहोरो सफलता पाएका छन् ।

च्याम्पियनसिपको पहिलो दिन आर्मीले विजयी सुरुवात गर्दै पुरुष तर्फ भारतीय खेलाडी सम्मिलित दावाली मिलन क्लबलाई २५–२०, २५–२१, २५–२१ को सोझो सेटमा पराजित गर्दै आफ्नो खातामा ३ अंक जोड्न सफल भएको हो । समूह ए मा आर्मी र दावाली संगै मणिमुकुन्द भलिबल क्लब रहेको छ ।

राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको च्याम्पियनसिपको समूह सी को खेलमा नेपाल पुलिसले पहिलो पटक सहभागिता जनाएको न्युटन भलिबल एकेडेमी माथि ३–० को जित निकाल्यो । पुलिसले न्युटनलाई २५–१७ र २५–१६ ले पराजित गर्दै महत्वपूर्ण ३ अंक जोडेको छ । यस समूहमा पुलिस र न्युटन संगै ढोरपाटन र गण्डकी रहेका छन् ।

यस्तै महिलातर्फ नेपाल पुलिस क्लबले नयाँ बजार सामाजिक युवा क्लबलाई २५–१०, २५–६ र २५–८ को सोझो सेटमा पराजित गरी विजयी सुरुवात गरिसकेको छ । जितसँगै पुलिसले समुह ‘ए’ मा ३ अंक जोडेको छ । यो समूहमा पुलिसुँगै होङग्वान्जी न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब, एभरेस्ट भलिबल क्लब र नयाँ बजार रहेको छ ।

यस्तै आर्मीले कृष्ण सेकेन्डरी एकेडेमीमाथि २५–३, २५–५ र २५–१० को जित निकाल्न सफल भयो । यस जितसँगै आर्मीले समूह ‘बी’ मा ३ अंक जोडेको छ । यो समूहमा आर्मीसँगै एपिएफ, गण्डकी प्रदेश, कृष्ण सेकेन्डरी एकेडेमी रहेको छ ।

माघ १ गतेसम्म हुने च्याम्पियनसिपमा पुरुषतर्फ १५ र महिला तर्फ ८ टोलीको सहभागिता रहेको छ । पुरुष र महिला दुवै तर्फको च्याम्पियनले समान ४ लाख रुपैयाँसँगै उपाधि हात पार्नेछन् । दोस्रो हुनेले २ लाख र तेस्रो हुने टोलीले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडीले २५ हजार र हरेक विधा (स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्स र प्रशिक्षक) ले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै इन्टरनेट सेवा प्रदायक भाएनेटले प्रतियोगिताको विधागत उत्कृष्टलाई ३ महिना र सर्वोत्कृष्ट पुरुष र महिला खेलाडीलाई ६–६ महिनाको इन्टरनेट सेवा प्रदान गर्नेछ ।