प्रवास

भारतमा भएको बस दुर्घटनामा तीन नेपालीको मृत्यु


२५ पुस,सुदूरपश्चिम । नेपाली यात्रु चढेको बस गएराति भारतको लखनउ नजिक दुर्घटना भएको छ । ट्रकसँग ठोक्किएर भएको दुर्घटनामा बसमा सवार तीन यात्रुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता बेदप्रकाश जोशीले जानकारी दिए। मृत्यु हुनेमा टीकापुर नगरपालिका क्षेत्र र आसपासका ५५ वर्षीय चन्द्र साउद, ४५ वर्षीय ललीत साउद र २० वर्षीया निर्मला बोहरा रहेको प्रवक्ता जोशीले बताए ।

उनले भने, “सीमापारी भारतीय प्रहरी कोतवालीले दिएको सूचनामा यी तीन जनाको मृत्यु भएको प्रारम्भिक खबर आएको छ, घटनाको थप विवरण आउन बाँकी छ ।” उक्त दुर्घटनामा अन्य नेपाली यात्रु घाइते भएको हुनसक्ने बताइएको छ । भारतको गुजरातबाट कैलालीको टीकापुरतर्फ आउँदै गरेको उक्त बस गएराति लखनउदेखि झण्डै ३० किलोमिटर नेपालतर्फको दुरीमा दुर्घटनामा परेको जनाइएको छ । नेपाली यात्रुका लागि भारतका विभिन्न सहरमा आवागमन गर्न सीमापारीबाट भारतीय बस आफूखुसी ढङ्गले चलाउने गरिएको जनाइएको छ ।