अन्तर्राष्ट्रिय

हिंसाकैबीच अमेरिकी राष्ट्रपतिद्वारा ब्राजिलका समकक्षीलाई भ्रमणको आमन्त्रण

२६ पुस, वासिङटन । अमेरिकी राष्ट्रपति जो बाइडेनले ब्राजिलका राष्ट्रपतिलाई अमेरिका भ्रमणको निमन्त्रणा दिनुभएको छ ।अमेरिकी राष्ट्रपति बाइडेनले ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भालाई आगामी फेब्रुअरी महिनाको शुरुमा अमेरिकाको भ्रमणमा आउन आमन्त्रण गर्नुभएको समाचारमा जनाइएको छ ।

उहाँहरुका बीचमा सोमबार फोनवार्ता भएको थियो । त्यस वार्ताका क्रममा उहाँले आफ्ना ब्राजिलियन समकक्षीलाई आमन्त्रण गर्नुभएको जारी विज्ञप्तिमा जनाइएको छ ।अमेरिकी राष्ट्रपति बाइडेनको सो आमन्त्रणलाई आफूले स्वीकार गरेको र यस भ्रमणबाट दुई देशका बीचमा आवश्यक समझ्दारी निर्माण गर्न र आपसी सहकार्यलाई अघि बढाउन ठूलो सहयोग पुग्ने पनि ब्राजिलका राष्ट्रपति लुलाले बताएको सो विज्ञप्तिमा जनाइएको छ ।

उता ब्राजिलमा राष्ट्रपतिको निर्वाचनका विषयलाई लिएर हिंसात्मक आक्रमणहरु भएका बताइएको छ ।ब्राजिलका पूर्व राष्ट्रपति जायर बोल्सोनारोका समर्थकहरुले यहाँको राष्ट्रपतीय निर्वाचनको परिणाम घोषणा भएपछि आइतबार राति व्यापक मात्रामा तोडफोड गरेका थिए ।

उनीहरुले यहाँको संसद भवन, ब्राजिलका राष्ट्रपतिको कार्यालय, सर्वोच्च अदालतलगायतका स्थानमा आक्रमण गरेका थिए । उनीहरुले संसदभवनभित्रै प्रवेश गरेर त्यहाँका भौतिक संरचनामा पनि तोडफोड गरेका थिए ।

सो तोडफोड र सरकारी कार्यालयमा भएको आक्रमणको विरोध गरिएको छ । साथै सो आक्रमणको घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले एक हजारजना भन्दा पनि बढीलाई पक्राउ गरेको बताएको छ ।

प्रहरीले सो आक्रमण र हिंसामा सहभागी भएका व्यक्तिहरुलाई सिसी टिभीबाट पहिचान गरेर पक्राउ गर्ने क्रम जारी नै राखेको छ भने उता प्रदर्शनकारीहरुले विरोध जुलुश निकालिरहेका छन् ।
यता राष्ट्रपतीय निर्वाचनको विरोधमा हिंसा जारी रहेका बेला यता अमेरिकी राष्ट्रपतिले आफ्ना ब्राजिलियन समकक्षीलाई अमेरिका भ्रमणको निम्ता दिनुभएको बताइएको हो ।