लुम्बिनी

लुम्बिनीमा राष्ट्रिय सभा उपनिर्वाचनको मतगणना सुरु

२५ माघ, काठमाडौं । लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतगणना सुरु भएको छ । निर्वाचनका ३०५ मतदातामध्ये ३०४ जनाले मतदान गरेका छन् ।

मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले मतदानलगत्तै मतगणनाको प्रक्रिया थालिएको बताए । उनका अनुसार प्रदेशसभातर्फ ८७ मतमध्ये सबै र पालिकातर्फ २१८ मध्ये २१७ मत खसेको हो ।

मत परिणाम आजै आउने निर्वाचन कार्यालयले जनाएको छ । नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको १ सीटमा उपनिर्वाचन भएको हो ।

उपनिर्वाचनमा सत्तारुढ नेकपा एमालेबाट कुमार दसौंदी, विपक्षी नेपाली कांग्रेसबाट माधव आचार्य र नागरिक उन्मुक्तिबाट राजेन्द्रवीर राय प्रतिस्पर्धामा छन् । सत्ता गठबन्धनको नागरिक उन्मुक्तिबाहेक सबै दलले एमालेका उम्मेदवार दसौंदीलाई समर्थन गरेका छन् ।