राजनीति

चितवन-२ मा समयमै उपनिर्वाचन गराउन प्रधानमन्त्रीसँग रविको माग

२९ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवन-२ मा उपनिर्वाचनको मितिबारे प्रधानमन्त्री पुष्पकमल दाहालसँग चासो राखेका छन् ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा रविले उक्त चासो राखेका हुन् । जवाफमा प्रधानमन्त्री दाहालले निर्वाचन आयोगसँग छलफल गरिसकेको र चाँडै मिति तय हुने भनेर आश्वस्त पारेका थिए ।

बैठकमा रविलाई सांसद बन्न सर्वोच्चले अयोग्य भएको फैसला गरेसँगै रिक्त रहेको चितवन- २ को उपनिर्वाचनबारे पनि गठबन्धनमा छलफल भएको थियो । सांसद पदका लागि अयोग्य भएको सर्वोच्चको फैसला माघ १३ मा आएको थियो ।

त्यसपछि पुनः नागरिकता लिएका रवि सरकारमा सहभागी हुन चाहेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि लामिछानेलाई गृहमन्त्री बनाउन प्रधानमन्त्री दाहाललाई दबाब दिएका थिए । त्यसपछि माघ २२ मा रास्वपाले सरकारमा सहभागी बाँकी मन्त्रीलाई पनि राजीनामा गर्न लगाएको थियो । उसले सरकारलाई समर्थन भने कायमै राखेको छ ।