प्रदेश 1

भारतीय भूभाग प्रयोग गर्नुपर्ने बाध्यता हट्दै

फिक्कल, ६ फागुन । केही समय अघिसम्म भारतीय सीमा क्षेत्र पशुपतिनगरका बासिन्दालाई आफ्नै जिल्लाको अर्को गाउँ पुग्न भारतीय भू-भाग भएर जानुपर्ने बाध्यता अब हट्ने भएको छ ।

इलामको सूर्योदय नगरपालिकाको पशुपतिनगरका बासिन्दा मानेभञ्ज्याङ जान र त्यहाँका बासिन्दा पशुपतिनगरतिर आउन वर्खामा निकै कठिन थियो । हिउँदमा पनि डेढ किलोमिटर दूरीको गाउँ पुग्न भारतीय भूभाग घुमेर गाडीमा जाँदा करिब २ घण्टा लाग्थ्यो । तर अब त्यो बाध्यता भने हट्ने भएको छ ।

पशुपतिनगर-मानेभञ्ज्याङ सडक निर्माण सुरु भएपछि स्थानीयलाई सहज हुने भएको हो । पशुपतिनगरबाट सोझै मानेभञ्ज्याङसम्म सडक बनेपछि आवतजावतमा सहज हुनेछ ।

एक हजार दुई सय मिटरको यो सडक ढलान हुँदै गरेको डिभिजन सडक कार्यालयका कार्यालयका इञ्जिनियर सञ्जय गौतमले बताउनुभयो । उहाँका अनुसार कालोपत्रेसम्मको काम रू तीन करोड ७१ लाखमा ठेक्का लागेको छ ।

“नेपाल–भारत सीमा क्षेत्रमै पर्ने यो सडक महत्वपूर्ण छ”, उनले भने, “निर्माणको काम तोकिएको मितिमा सकिनेमा हामी ढुक्क छौँ । भगवती बौद्ध सोहिना जेभीले निर्माण ठेक्का लिएको छ ।”

निर्माण असार २० मा काम सक्ने गरी गत चैत २० मा ठेक्का सम्झौता भएको थियो । हालसम्म ४० प्रतिशत काम सम्पन्न भएको इञ्जिनियर गौतमले जानकारी दिए ।

सूर्योदय नगरपालिकाका नगरप्रमुख रणबहादुर राईले भौगोलिक रुपमा कठिन क्षेत्र भएकाले यहाँ सडक निर्माण गर्न थुप्रै चुनौतीको सामना गर्नुपरेको बताए । उनले भने “यहाँ वर्षौँदेखि सडकको अभाव थियो तत्काल समाधान गर्न कैयन प्रयास गरियो । अत्यन्तै कठिन भौगोलिक बनावटका बावजुत हामी सफल भएका छौँ ।”

यहाँ सडक बनेपछि सर्वसाधारणले सामान्य काममा पनि भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता अन्त्य हुने प्रमुख राईको विश्वास छ । नेपालीले नेपालभित्रै पुग्न आफ्नै भूमि प्रयोग गर्न पाउनु स्वाभिमानको कुरा पनि हो । उनले भने, “नागरिकलाई मात्र होइन सुरक्षाकर्मीलाई सुरक्षा व्यवस्थामा असहज परिस्थिति थियो । सबैका लागि यो सडक अत्यावश्यक र महत्वपूर्ण हो ।”

आफूले उत्पादन गरेको तरकारी भारतीय बजारमा लगेर बिक्री गर्ने विषयमा केही समयअघि भारतीय सीमा सुरक्षा बल र स्थानीयबीच तनावसमेत भएको थियो । त्यसपछि भारतपट्टि तरकारी, दूधलगायत बेच्न बन्द भएको थियो भने स्थानीय उत्पादन नेपालतिरकै बजारमा ल्याएर बिक्री गर्न सडक सुविधा थिएन । नगरप्रमुख राईले पशुपतिनगरका सुरक्षाकर्मी काममा ड्युटीमा आफ्नै देशको मानेभञ्ज्याङ जानुपरे बर्दी लाएर, हतियार बोकेर जाने अवस्था नभएको स्थितिमा सडकले त्यो बाध्यतासमेत अन्त्य गर्ने बताए ।

सूर्योदय नगरकै आग्रहमा सङ्घीय सरकारले बजेट व्यवस्था गरिदिएपछि यहाँ सडक निर्माण सम्भव भएको नगरको भनाइ छ । अब आन्तरिक पर्यटकलाई आफ्नै भूभागबाट प्रसिद्ध चित्रेगुम्बालगायत उच्च पहाडी क्षेत्रका दर्जनौँ पर्यटकीयस्थल पुग्नसमेत सहज हुने भएको नगरपालिकाका प्रवक्ता ख्यामबहादुर भुजेलले बताए ।