प्रदेश 1

यलम्बर उद्यान अन्तिम चरणमा

२१ फागुन,खोटाङ । दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिका–१४ बुइपास्थित पञ्च दोबाटोमा निर्माणाधीन यलम्बर पार्क (उद्यान)को काम अन्तिम चरणमा पुगेको छ । किरात ऐतिहासिक स्थल बुइपास्थित पञ्च दोबाटोमा प्रदेश सरकार र दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिकाले संयुक्त रूपमा रु ११ करोड ५८ लाख १६ हजार लागतमा किराँती प्रथम राजा यलम्बरको १०० फिट अग्लो सालिक (प्रतिमा)सहितको उद्यान निर्माण सुरु गरिएको हो । 

दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिकासँगको सम्झौताअनुसार निर्माण गर्नुपर्ने भौतिक संरचनाको काम अन्तिम चरणमा पुगेको ठेकेदार कम्पनीका इन्जिनियर राजन पुडासैनीले जानकारी दिए । “निर्माणाधीन यलम्बर पार्कको भौतिक प्रगति ८० प्रतिशत सम्पन्न भइसकेको छ”, उनले भने, “अहिले यलम्बरको सालिक राख्ने ठाउँको काम गरिरहेका छौँ । आगामी असार मसान्तसम्म सम्पूर्ण काम सम्पन्न गरेर नगरपालिकालाई हस्तान्तरण गर्ने गरी निर्माणको कामलाई तीव्रता दिइएको छ ।”

निर्माणाधीन यलम्बर पार्कमा आव २०७६/७७ मा नगरपालिकाबाट विनियोजन भएको रु ७२ लाख बजेटबाट प्रवेशद्वार, घेराबार, सुरक्षाकर्मी बस्ने ठाउँ, टिकट काट्ने ठाउँ, रेष्टुरेण्ट गृह र पसल सञ्चालन गर्ने गृहको भवन लगायतका भौतिक संरचना यसअघि उपभोक्ता समितिमार्फत निर्माण गरिएको थियो । बुइपामा स्थापना गर्न लागिएको यलम्बरको पूर्ण कदको सालिक विश्वमा निर्माण भएकामध्ये अहिलेसम्मकै सबैभन्दा अग्लो र ठुलो हुने दाबी गरिएको छ ।

पञ्च दोबाटोमा निर्माणाधीन यलम्बर उद्यानभित्र घुमफिर गर्ने ठाउँ, विश्राम गर्ने फलामे कुर्सी, निःशुल्क वाइफाई, कफी तथा फास्टफुडलगायतका सेवा उपलब्ध हुने दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिका–१४ बुइपाका वडाध्यक्ष दिनेश राईले जानकारी दिए । चोभारको मञ्जुश्री उद्यान शैलीमा निर्माण सुरु गरिएको पञ्चदोबाटोको यलम्बर उद्यान उमा–तुवाचुङ–अनसुवी जेभीले ठेक्का लिएको हो । 

पार्कमा राखिने किराँती प्रथम यलम्बर राजाको सालिकको कामसमेत अन्तिम चरणमा पुगेको निर्माण कम्पनीका प्रतिनिधि एवं तुवाचुङ कन्स्ट्रक्सन प्रालिका प्रबन्ध निर्देशक सुनिल राईले बताए । “भक्तपुरस्थित निकोसेरामा तीन रोपनी जग्गा भाडामा लिएर दक्ष कालीगढलाई सालिक निर्माणको काम लगाएका छौँ”, उनले भने, “ निर्माणाधीन यलम्बर उद्यानमा स्थापना गरिने फाइवर प्रयोग गरेर निर्माण गरिने यलम्बर राजाको सय फिट अग्लो सालिकको अहिले टाउको बनाउने काम भइरहेको छ । आगामी चैत मसान्तसम्म पार्क निर्माण स्थलमा ल्याएर स्थापना गरिसक्छौँ ।”

नगरपालिकाको गौरवको आयोजनाअन्तर्गत राखिएको यलम्बर उद्यानको आम्दानी ६० प्रतिशत नगरपालिका र ४० प्रतिशत प्रदेशमा जम्मा गर्ने गरी दुई पक्षीय सम्झौतामा उल्लेख छ । सगरमाथा राजमार्गको दिक्तेल–गाईघाट सडक खण्डमा पर्ने बुइपामा निर्माणाधीन यलम्बर पार्क पर्यटकका लागि आवतजावत गर्नसमेत सहज हुने गरी निर्माण स्थल छनोट गरिएको बुइपाका वडाध्यक्ष राईले जानकारी दिएको छ । 

दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिकाको दोस्रो ठुलो व्यापारिक केन्द्र एवं शुक्रवार हटिया लाग्ने ऐतिहासिक स्थल पञ्च दोबाटोमा निर्माणाधीन यलम्बर उद्यानको काम करिब रु १४ करोड लागतमा पूरा हुने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)मा उल्लेख छ । तीस रोपनी सरकारी जग्गामा निर्माण सुरु गरिएको यलम्बर उद्यान व्यवस्थित तथा आधुनिक किसिमको हुने नगरपालिकाले जनाएको छ । किरात समुदायको इतिहासलाई संरक्षण गर्दै पर्यटन प्रवर्द्धनमा सघाउ पुर्याउने उद्देश्यले बुइपाबजारस्थित पञ्च दोबाटोमा किराँती प्रथम राजा यलम्बरको पूर्ण कदको सालिकसहितको उद्यान निर्माणको काम सुरु गरिएको निवर्तमान नगरप्रमुख दीपनारायण रिजालले बताए । आन्तरिक तथा बाह्य पर्यटकबाट प्रवेश शुल्कसमेत लिने गरी निर्माण सुरु गरिएको यलम्बर उद्यान नगरपालिकाको आम्दानीको स्रोतको रूपमा विकास गर्ने गरी निर्माण सुरु गरिएको हो । 

आफ्नो क्षेत्रमा किराँती समुदायका पहिलो राजा यलम्बरको सालिकसहितको पार्क निर्माण हुने भएपछि स्थानीयवासी समेत हर्षित भएका छन् । किरात ऐतिहासिक स्थल बुइपामा किराँती राजा यलम्बरको विश्वकै अग्लो र ठुलो सालिकसहितको पार्क निर्माण भएपछि पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने पर्यटन व्यवसायीले बताएका छन् ।

हिन्दु, बौद्ध र किरात धर्मावलम्बीको सङ्गम स्थल हलेसी नजिक रहेको बुइपामा निर्माण सुरु गरिएको सो उद्यानमा हलेसी आउने पर्यटकलाई घुमाउन ल्याउन सकिने जनाएको छ । यलम्बर उद्यानदेखि किरात सभ्यताको उद्गम थलो हलेसी तुवाचुङ नगरपालिकास्थित तुवाचुङ जायजतमसम्म पदमार्गसमेत निर्माण गर्ने योजना बनाइएको नगर उपप्रमुख विशन राईले जानकारी दिए ।  

सरकारले निर्धारण गरेको सय  पदमार्गमा पर्ने ‘मुन्धुम ट्रेल’ पदमार्ग पनि सोही क्षेत्रमा पर्ने भएकाले निर्माणाधीन यलम्बर उद्यानलाई महत्त्वका साथ हेरिएको छ । पञ्च दोबाटोमा निर्माणाधीन अवस्थामा रहेको उद्यानमा राखिएको जोडी बाबु (चिण्डो) निक्कै आकर्षक देखिएको छ ।