खेलकुद

क्रिकेटर शेख दाजुभाइलाई महानगरको भव्य स्वागत

५ चैत, बिरगञ्ज । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य आरिफ शेख र आसिप शेखलाई आज गृहनगरमा वीरगञ्ज महानगरले भव्य स्वागत गरेको छ ।

हालै सम्पन्न आइसिसी विश्वकप लिग–२ मा नेपालका तर्फबाट उत्कृष्ट प्रदर्शन गरी आज गृहनगर फर्किएका शेख दाजुभाइलाई वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले दोसल्ला ओढाएर स्वागत तथा सम्मान गरे ।

महानगरपालिकाकै परिसरमा आयोजित सम्मान कार्यक्रममा नगरप्रमुख सिंहले नेपाललाई विश्वकप क्वालिफायरमा पु¥याउन शेख दाजुभाइले विशेष भूमिका निर्वाह गरेकाले उनीहरुलाई यही चैत १७ गते वीरगञ्जमा भव्य समारोह गरेर नागरिक अभिनन्दन पनि गर्ने घोषणा गरे ।

सोही समारोहमा दुवै दाजुभाइ महानगरले एक/एक थान यामहा एफ जेड एफ आई मोटरसाइकल पनि प्रदान गर्ने नगरप्रमुख सिंहले बताए । दुवै खेलाडीले नेपालको नाम अझ उचाइमा पु¥याएर वीरगञ्ज महानगरको नाम पनि उँचो बनाएको बताउँदै नगरप्रमुख सिंहले दुवै खेलाडी राष्ट्रकै गहना भएकाले थप हौसला बढाउन महानगरले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।

महानगरले सम्मान गरेपछि खेलाडीद्वय आसिफ र आरिफले महानगरको यो सम्मानले आफूहरुलाई अझ हौसला थपिदिएको प्रतिक्रिया दिए । “गृहनगरमै यति भव्य सम्मान पाउँदा खुसीले मन गद्गद भएको छ”, आरिफले भने, “आउने दिनमा देशको नाम रोशन गर्न अझ हौसला थपिदिएको छ ।”

कार्यक्रममा शेखद्वयका बुबा शेख सलामले आफ्ना यी दुवै छोराले देशको नाम उचाइमा पु¥याउँदा आफू पनि गौरवान्वित भएको प्रतिक्रिया दिए । “मेरा यी दुई छोरा अब मेरो मात्रै छोरा रहेनन्, अब यिनीहरु यो देशकै छोरा भएका छन्”, शेख सलामले भने, “छोराहरुलाई महानगरले सम्मान गरी हौसला बढाउने काम गरेको छ, यसका लागि महानगरप्रति आभार छु ।”

सम्मान कार्यक्रममा वीरगञ्ज महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, वडाध्यक्षहरु बैजुलाल स्वर्णकार, प्रदीप चौरसिया, सुरेश गुप्ता, जगत साह कानु लगायतको सहभागिता थियो ।