खेलकुद

खेलकुद पूर्वाधार नीति संवाद यसै साता हुने

१५ चैत, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा खेलकुद पूर्वाधार नीति संवाद यसै साता हुने भएको छ ।

राखेपद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उक्त संवाद कार्यक्रम यही चैत १८ गते हुने राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङले जानकारी दिए । उनले देशको भौगोलिक अवस्थाअनुसार कस्तो पूर्वाधार निर्माण गर्न उपयुक्त हुनेलगायतका विषयमा सुझाव सङ्कलन गर्न संवादले सहजीकरण गर्ने विश्वास व्यक्त गरे ।

मापदण्डसहितका पूर्वाधार निर्माणको नीति निर्माण गराउने, खेल पूर्वाधारको स्तर निर्धारणको मापदण्ड तयार गर्ने, खेलकुद पूर्वाधारको वर्तमान अवस्थाबारे जानकारी गराउने, पूर्वाधारका लागि लगानीको अवस्थाको विषयमा जानकारी दिने उद्देश्यले संवाद आयोजना गर्न लागिएको आयोजकको भनाइ छ ।

सङ्घ, प्रदेश र स्थानीय तहमा कस्ता पूर्वाधार हुनुपर्ने भन्ने विषयमा आवश्यक मापदण्ड बनाउने, सङ्घ, प्रदेश र स्थानीय तहमा हुनुपर्ने पूर्वाधारको विषयमा जानकारी लिने, खेलकुद पूर्वाधारमा राज्यको अवधारणा र प्रतिबद्धताका लागि, पूर्वाधार निर्माणमा लगानी वृद्धि गराउन, निजी क्षेत्रलाई पनि खेलकुद पूर्वाधारमा उत्प्रेरित गर्ने, भौगोलिक अवस्थितिका आधारमा पूर्वाधार निर्माणको नीति तयार गर्नेलगायतका विषयमा संवाद केन्द्रित रहने बताइएको छ ।

उक्त कार्यक्रमको उद्घाटन राखेपका संरक्षक एवं प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने बताइएको छ ।