खेलकुद

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताः आर्मी विजयी

१२ बैसाख, काठमाडौं । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब विजयी भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज सम्पन्न खेलमा आर्मीले चर्च ब्वाइज युनाइटेड क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । आर्मीको जितमा जिलेस्पी जङ्ग कार्कीले निर्णायक गोल गरे ।

जिलेस्पीले खेलको १२ औँ मिनेटमा गरेको एक गोल नै आर्मीका लागि निर्णायक गोल सावित भयो । प्रतियोगितामा आर्मीको यो पाँचौँ जित हो । आर्मीले १२ खेलमा १९ अङ्क जोडेको छ । यससँगै आर्मी अङ्क तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

यता चर्च ब्वाइजको भने यो दोस्रो हार हो । चर्च ब्वाइज १२ खेलमा १८ अङ्क जोडेर चौथो स्थानमा रहेको छ ।

यसैगरी सातदोबाटोस्थित एन्फा कम्प्लेक्स आजै भएको अर्को खेलमा नेपाल पुलिस क्लबले मनाङ मस्याङ्दी क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी भएको थियो । पुलिसको जितमा मुहमद आसिकले निर्णायक गोल गरे । उनले खेलको सातौँ मिनेटमा गोल गरेका थिए ।