मनोरञ्जन

‘भक्तराज आचार्य राष्ट्रिय सङ्गीत सम्मान–२०७९’ घोषणा

१८ बैसाख, काठमाडौँ । भक्तराज आचार्य सङ्गीत प्रतिष्ठान र सिटी एक्सप्रेस मनि ट्रान्सफरको संयुक्त आयोजनामा प्रदान गरिँदै आएको ‘भक्तराज आचार्य राष्ट्रिय सङ्गीत सम्मान–२०७९’ घोषणा गरिएको छ ।

यो वर्ष ‘भक्तराज आचार्य राष्ट्रिय सङ्गीत सम्मान–२०७९’ गायनतर्फ गायक दीप श्रेष्ठ र सङ्गीततर्फ सङ्गीतकार शक्ति बल्लभलाई प्रदान गरिने गायक भक्तराज आचार्यका छोरा स्वरुपराज आचार्यले जानकारी दिए । उनका अनुसार पुरस्कार राशि जनही रु ५० हजार छ । गत वर्षदेखि कमजोर आर्थिक अवस्था भएको तथा औषधि उपचार गर्नबाट वञ्चित भएका सङ्गीतकर्मीलाई दिन सुरु गरिएको ‘सुशीला आचार्य सु–स्वास्थ्य कामना सम्मान’ युवा तबलावादक भिपी सिंहलाई प्रदान गरिने उनले जानकारी दिए । यसको पुरस्कार राशि रु २५ हजार छ ।

यही वैशाख २३ गते आयोजना गरिने विशेष साङ्गीतिक समारोहमा सम्मान तथा पुरस्कार प्रदान गरिने गायक आचार्यले बताए। “नेपाली साङ्गीतिक क्षेत्रमा लामो समयदेखि अनवरत रूपमा काम गरिरहेका सङ्गीतकर्मीलाई थप काम गर्ने प्रेरणा मिलोस् भनेर हामी हरेक वर्ष यो सम्मान गर्दै आइरहेका छौँ । आगामी दिनमा यसलाई अझै समयानुकूल बनाउँदै अगाडि बढ्ने छौँ”, गायक आचार्यले भने ।