समाचार

काठमाडौँलाई ‘सीसीटिभी चेक प्वाइन्ट’ बनाउने तयारी

२२ बैसाख, काठमाडौं । सीसीटिभी चेक प्वाइन्ट’ बनाउने तयारीअनुसार काठमाडौँ महानगरपालिकाका विभिन्न स्थानमा सिसिटिभी जडान गरिने भएको छ । महानगरपालिकाले दिने बजेटबाट काठमाडौँका विभिन्न स्थानमा एक सय ६० सीसीटिभी जडान गर्न लागिएको प्रहरीले जनाएको छ ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी र उपत्यका प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीबीच यही वैशाख ७ गते सीसीटिभी जडान गर्ने सम्झौता भएअनुसार महानगरपालिकाले ‘क्लोज सर्किट टेलिभिजन’ (सीसीटिभी) क्यामेरा जडान गर्न रु छ करोड उपलब्ध गराउने भएको छ ।

काठमाडौँलाई ‘सीसीटिभी चेक प्वाइन्ट’ बनाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । अपराध गरेर भाग्ने आरोपी (अपराधी) जताबाट पनि सीसीटिभीको चेक प्वाइन्टमा पुग्ने गरी सीसीटिभी जडान गर्ने महानगरको योजना छ । काठमाडौँमा पाँच चेक प्वाइन्ट बनाउने र चेक प्वाइन्टमा राति पनि खिच्ने ‘नाइट मोड’ भएका क्यामरा जडान गर्ने तयारी भइरहेको प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार काठमाडौँ उपत्यकाभर दुई सय ४२ सिसिटिभी चेक प्वाइन्ट राख्नुपर्ने प्रहरीको प्रक्षेपण छ । बुढानीलकण्ठ नगरपालिकाले पनि सो नगरपालिका क्षेत्रभित्र सीसीटिभी जडान गर्न प्रहरीलाई रु पाँच करोड उलपब्ध गराउने निर्णय गरेको छ । बुढानीलकण्ठ नगरपालिका क्षेत्रभित्र पनि एक सय ४५ सीसीटिभी जडान गर्न काम अघि बढेको प्रहरीले जनाएको छ ।