गण्डकी प्रदेश

लागुऔषध छाडेर अब सचेतनातर्फ

१३ असार, गलकोट । चौध वर्षको उमेरमा लागुऔषध दुव्र्यसनीमा फसेका रमेश भण्डारी अहिले लागुऔषध प्रयोग गर्नु हुँदैन भन्ने जनचेतना फैलाउने अभियानमा छन्। बागलुङ नगरपालिका–२ श्रीनगर टोलका उहाँ लागुऔषधमा फसेको त्यो आठवर्षे अँध्यारो यात्रालाई बिर्सेर नयाँ जीवन जिउँदै छन्।

आफूले जस्तो दुःख अरुले भोग्न नपरोस् भन्दै समाज रुपान्तरण र लागुऔषधमा फसेकालाई पुनःस्थापनातर्फ लागेको भण्डारी बताउँछन्। “नौ कक्षा पढ्दादेखि नै लागुऔषध दुव्र्यसनीमा लागे, चुरोटबाट सुरु भएको दुव्र्यसनीको यात्रा कोकिन र हिरोइनसम्म पुग्यो, सुईमार्फत लागुऔषध प्रयोगसमेत गरेँ”, विगत सम्झँदै उनले भने, “लागुऔषधमा फसेको आठ वर्षसम्म पारिवारिक असन्तुलन, सामाजिक बहिस्कार र स्वास्थ्यमा धेरै समस्या आए, प्रहरीले पक्राउ गरेपछि मात्रै सुधार केन्द्रमा पुगेको थिएँ, सुधार केन्द्रमा भइरहेका क्रियाकलापबाट प्रभावित भएँ, सुधार केन्द्रबाट फर्केको छ वर्षपछि आफ्नै पहलमा पुनःस्थापना केन्द्र सञ्चालनमा ल्याए ।”

लागुऔषधमा फसेका युवा परिवार र समाजमा पुनःस्थापना हुन निकै समस्या हुने गरेको भण्डारीको अनुभव छ । लागुऔषध प्रयोग गरिरहेको समयमा प्रहरीले पक्राउ गरेपछि परिवारले सुधार केन्द्रमा राखेर उनको उपचार गरेको हो । अहिले उनै भण्डारी जिल्लामा लागुऔषधविरुद्धको सचेतनामूलक अभियानमा प्रहरीसँगै मिलेर काम गरिरहेका छन् ।

अँध्यारो जीवनलाई उज्यालोतर्फ लैजाने प्रयास गरिरहेको उल्लेख गर्दै भण्डारीले युवालाई लागुऔषधमा फस्न नदिन प्रहरी र पुनःस्थापना केन्द्रबीचको समन्वयमा विद्यालयमा समेत सचेतनामूलक कार्यक्रम गर्दै आएको बताए। लागुऔषधमा छोराछोरी फस्दा परिवारमा हुने समस्याका विषयमा आफैँ अनुभवी रहेकोे भण्डारीको भनाइ छ । पुनःस्थापना केन्द्रमार्फत लागुऔषधमा फसेकालाई मनोपरामर्श गर्ने, योग तथा ध्यान गराउने र विस्तारै परिवारमा पुनःमिलन गराउँदै सामान्य जीवनयापनमा फर्काउने काम गरिरहेको उहाँले जानकारी दिए।

यस्तै बागलुङ नगरपालिका–२ रुद्रेपिपलका प्रवेश बोहोरा लागुऔषधमा फसेको त्यो समयलाई आफूले कालो दिनका रूपमा स्मरण गर्छन्। “पढाइमा अब्बल थिए, साथीको सङ्गतले चुरोटबाट कुलतमा फसे”, उनले भने– “लागुऔषधका कारण जिन्दगीले नराम्रो मोड लियो । परिवार, आफन्त र समाजबाट टाढा भएँ, आफ्नै आमालाई चिन्न सकिनँ । लागुऔषधमा मजस्तै नफसुन् भनेर अहिले यो अभियानमा लागेको छु ।”

लागुऔषधमा छोरो फसेपछि समाजले हेर्ने दृष्टिकोण फरक हुने गरेको सम्झाना क्षेत्रीले बताए। आफ्नो छोराजस्तै अन्य लागुऔषधमा नफस्न विशेषगरी आमाहरू नै सचेत हुन आवश्यक रहेको उनको भनाइ छ । छोराको आनीबानी, साथीसङ्गीको सङ्गत र उसले गर्ने व्यवहारबाट लागुऔषधमा फसे÷नफसेको छुट्याउन सहज हुने क्षेत्री बताउँछन्।

“घरमा नआउने, खाना नखाने, एक्लै कोठामा सुतिरहने समस्या थियो, पछिमात्रै छोरा लागुऔषधमा फसेको कुरा पत्ता लाग्यो”, उनले भने, “समाजले हेर्ने दृष्टिकोण बदलियो, छोरा अहिले लागुऔषधबाट छुटकारा पाउने अवस्थामा आइसकेको छ ।”

लागुऔषधमा फस्ने युवायुवतीको पहिलो चरणमा चुरोट नै सेवन गर्ने गरेको अनुसन्धानका क्रममा पाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी मदन केसीले बताए। “चुरोट खाने, चुरोटले नपुगे गाँजा मिसाउने, पछि अफिम तथा लागुऔषध मिसाउने गरेको पाइन्छ”, उनले भने, “हामी निरन्तर लागुऔषध सेचतनामूलक कार्यक्रम गर्दै आएका छौँ, गण्डकी प्रदेशमा नौ हजार लागुऔषध प्रयोगकर्ता रहेको तथ्याङ्क छ ।”

लागुऔषधमा फसेका युवाले लागुऔषध सेवनका लागि चाहिने आवश्यक रकम जुटाउन चोरीसमेत गर्ने गरेको पाइएको छ । लागुऔषधमा फसेका युवाको शरीरमा गिर्खा देखिने, पाक्ने, कुपोषण हुने र शारीरिक तौल घट्दै जाने हुन्छ ।