मनोरञ्जन

‘खोटाङ प्रतिभा -२०८०’ को फाइनल साउन २९ गते राष्ट्रीय नाचघर काठमाडौमा हुँदै

२१ साउन, काठमाडौं । खोटाङ कलाकार समाजको आयोजना र खोटाङ सेवा समाज बेलायतले सह-आयोजना गरेको ‘खोटाङ प्रतिभा-२०८०’ गायन र नृत्य विधामा छनोट प्रतियोगिताको फाइनल यही साउन-२९ गते राष्ट्रिय नाचघर जमल काठमाडौँमा एक साथ सम्पन्न हुँदैछ । कार्यक्रम दिउँसो १ बजे देखि सुरु हुने र कार्यक्रम स्थल प्रवेश निशुल्क रहेको आयोजक खोटाङ कलाकार समाजका अध्यक्ष रुपकुमार राईले जनाएको छ।

खोटाङ प्रतिभा-२०८० छनोटका लागि जिल्लाको १० वटै पालिकाहरुमा गत बैशाख ५ देखि १९ गत्तेसम्म पालिका प्रतिभा छनोट कार्यक्रम भएको थियो। उक्त कार्यक्रम मार्फत प्रत्येक पालिकाबाट गायनमा र नृत्यमा गरि जम्मा २० जना नवप्रतिभा छनोट भएको समाजका महासचिव पार्वन राईले जानकारी दिए। छनोट प्रतियोगीहरुलाई साउन-५ गत्तेबाट काठमाडौमा प्रशिक्षण दिदै आईरहेको आयोजक खोटाङ कलाकार समाजका सदस्य तथा ‘खोटाङ प्रतिभा २०८०’ का प्रचार प्रसार प्रमुख भरत लिमेल मगरले बताए ।

प्रतियोगीहरुलाई काठमाडौ आउन-जान , खान-बस्नको व्यवस्था आयोजकले नै गरेको बताए ।

प्रतियोगिताको गायनतर्फ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट प्रदीप राई, हलेसी तुवाचुङ नगरपालिकाबाट अस्विन राई, दिप्रुङ चुइचुम्मा गाउँपालिकाबाट दिलीप राई, बराहपोखरी गाउँपालिकाबाट लक्ष्मण परियार, जन्तेढुङ्गा गाउँपालिकाबाट दुर्गा राई, खोटेहाङ गाउँपालिकाबाट विकास राई, केपिलासगढी गाउँपालिकाबाट राजेश राई, ऐसेलुखर्क गाउँपालिकाबाट सुमन राई, रावाबेँसी गाउँपालिकाबाट ममता राई र साकेला गाउँपालिकाबाट रवीन दियाली सहभागी छन् ।

भने नृत्यतर्फ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट सलिना भुजेल, दिप्रुङ चुइचुम्मा गाउँपालिकाबाट मनिता राई, हलेसी तुवाचुङ नगरपालिकाबाट स्मृति राई, बराहपोखरी गाउँपालिकाबाट सुवास विश्वकर्मा, जन्तेढुङ्गा गाउँपालिकाबाट करुणा राई, खोटेहाङ गाउँपालिकाबाट कविता श्रेष्ठ, केपिलासगढी गाउँपालिकाबाट सौलिना तामाङ, ऐसेलुखर्क गाउँपालिकाबाट सरिना राई, रावाबेँसी गाउँपालिकाबाट चिजन मगर र साकेला गाउँपालिकाबाट मेनुका राई सहभागी छन् ।

खोटाङ प्रतिभा-२०८० छनोट प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने प्रतिभालाई क्रमशः नगद रु.२ लाख २ हजार, रु. १ लाख १ हजार र रु.५१ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक टिमले जनाएको छ। खोटाङ प्रतिभा-२०८० छनोट प्रतियोगिताका विजयी ६ जना प्रतिभालाई पुरस्कारसहित गीत रेकर्डिङ तथा म्यूजिक भिडियो खेल्ने अवसर दिनुका साथै बेलायतमा हुने कार्यक्रममा समेत सहभागी गराइनेछ।