अन्तर्राष्ट्रिय

पाकिस्तानको कराँचीमा बस र डम्पर ठोक्किँदा ४ जनाको मृत्यु, १८ जना घाइते

२२ साउन, एजेन्सी । पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा सोमबार बस र एउटा डम्पर ट्रक एक आपसमा ठोक्किँदा कम्तिमा चार जनाको मृत्यु हुनाका साथै अन्य १८ जना घाइते भएको उद्धार सेवाले जनाएको छ ।

प्राप्त जानकारी अनुसार शहरको उत्तरी बाइपासको एकतर्फी बाटोमा यात्रुवाहक बसले गाडीलाई ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको ट्रकसँग ठोक्किदा सो दुर्घटना भएको हो ।

घाइतेहरूलाई स्थानीय अस्पतालमा पुर्याइएको छ । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको बताइएको छ । उद्धार सेवाका अनुसार बसमा सवार यात्रु कराँचीका बासिन्दा रहेको र पिकनिक जाँदै गरेको बुझिएको छ ।