अन्तर्राष्ट्रिय

३३ जना सिरियाली सैनिक मारिए

२७ साउन, एजेन्सी । इस्लामिक स्टेट (आईएस) समूहका लडाकुले सिरियाको देइर एजोर प्रान्तको मायादीन नजिकैको मरुभूमिमा सैनिक जवान सवार बसलाई घेरेर आक्रमण गर्दा ३३ जनाको मृत्यु भएको छ ।

युद्ध अनुगमन गर्ने बेलायती स्वतन्त्र संस्था सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार सेनाका जवान सवार बसमा बिहीबार साँझ भएको आक्रमणमा उनीहरू मारिएका हुन् ।

आईएसका जेहादीले विशाल सिरियाली मरुभूमिमा लुक्दै विभिन्न ठाउँमा विद्युतीय धराप थाप्ने तथा प्रहार गर र भाग (हिट एन्ड रन) आक्रमण गर्दै आएको छ । यो हमला यो वर्ष भएका आक्रमणमध्ये सबैभन्दा घातक हो । आईएस लडाकाले सर्वसाधारणका साथै सरकारी सेनालाई निशाना बनाउँदै आएका छन् । यसअघि आर्र्ईएस लडाकुले आफ्नो पूर्वगढ राका प्रान्तमा दश जना सिरियाली सैनिकको हत्या गरेका थिए ।

सरकारी सेनाले राका प्रान्तको दक्षिण र पूर्वका ग्रामीण क्षेत्रमा नियन्त्रण कायम गरेका छन्भने कुर्द लडाकुले बाँकी भागमा आफ्नो आधिपत्य जमाएका छन् । सन् २०१७ सम्म राका शहर आईएस समूहको क्रूरता केन्द्र बनेको थियो ।