अन्तर्राष्ट्रिय

हवाईमा डढेलो नियन्त्रणका लागि अनुसन्धान सुरू, मृत्यु हुनेको सङ्ख्या ८० पुग्यो

२७ साउन, एजेन्सी । हवाई राज्यमा यस हप्ता कम्तीमा ८० जनाको ज्यान जाने गरी भएको विनाशकारी डढेलो नियन्त्रणका लागि आफूले अनुसन्धान सुरु गर्न लागेको हवाईका प्रमुख कानूनी अधिकारीले शुक्रबार बताएका छन् ।

लाहैनाका बासिन्दाहरूलाई पहिलो पटक शहरमा फर्कन अनुमति दिइएपछि अनुसन्धान सुरु गर्न निर्देशन दिइएको हो । लाहैनाका बासिन्दाहरूलाई शहरमा फर्किन दिइएको अनुमतिसँगै प्रशासनले उक्त घातक दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ८० पुगेको जनाइएको हो ।

घर फर्किन अनुमति दिएसँगै आफ्नो वस्तीमा फर्किँदा अधिकांशले आफ्नो घर खरानीमा परिणत भएको बताएका छन् । आफ्नो घर सकुशल पाएका नागरिकले पनि उक्त घटनामा प्रशासनबाट भएका कमजोरीप्रति आक्रोस पोखेका छन् ।

नाम नबताउने शर्तमा एक नागरिकले एएफपीसँगको कुराकानीमा भने, “सरकार कहाँ छ ? तिनी (नेता)हरू कहाँ छन्?” “यो नालायकी हो । हामी स्वतन्त्र रूपमा हिँडडुल गर्न सक्दैनौं किनकि हामीले लुटपाटको बारेमा सुनेका छौं । हामीले जीउनका लागि धेरै आधार गुमाएका छौँ ।”

हवाईका महान्यायाधिवक्ता एनी लोपेजले आफ्नो कार्यालयले यस हप्ता माउई र हवाई टापुमा लागेको डढेलोको समय र यसपछिका लागि महत्वपूर्ण निर्णय लिने र स्थायी नीतिहरूको परीक्षण गर्ने बताएका छन् । उनले आफ्नो विभागले उक्त निष्कर्ष सार्वजनिक गर्ने बताएका छन् ।

माउ काउन्टीका अधिकारीहरूले शुक्रबार राति मृत्यु हुनेको सङ्ख्या ८० पु¥याएका थिए र एक हजार ४१८ जना आपतकालीन आश्रयस्थलमा रहेको बताएका थिए । यो गर्मीयाममा उत्तरी अमेरिकामा भएका अन्य चरम मौसमी घटनाहरूजस्तै डढेलोले जनजीवन प्रभावित तुल्याएको छ ।

क्यानाडामा अझै पनि जङ्गलको व्यापक क्षेत्र डढेलोले जलिरहेको छ र अमेरिकाको दक्षिण–पश्चिममा एक प्रमुख मौसमी घटना उष्ण लहर फैलिरहेको छ । यूरोप र एसियाका केही भागले पनि बढ्दो तापक्रमको सामना गर्नुपरेको छ ।

व्यापक डढेलो र बाढीले आतङ्क मच्चाएको छ । वैज्ञानिकहरूले कार्बन उत्सर्जनका कारण हुने विश्वव्यापी तापक्रम वृद्धिले चरम प्रतिकूल मौसममा योगदान पु¥याइरहेको बताएका छन् ।