अन्तर्राष्ट्रिय

ताइवानका उपराष्ट्रपति अमेरिका हुँदै पराग्वे भ्रमणमा

२७ साउन, एजेन्सी । ताइवानका उपराष्ट्रपति विलियम लाइ संयुक्त राज्य अमेरिका हुँदै दक्षिणअमेरिकी मुलुक पराग्वेको भ्रमणमा जाने भएका छन् ।

पराग्वेको राष्ट्रपतिमा निर्वाचित सान्टियागो पेनाको पदबहाली समारोहमा सहभागी हुन ताइवानी नेता असुनसियनतर्फ प्रस्थान गर्न लाग्ने भएका हुन् । पराग्वेका जनतालाई ताइवानको शुभकामना व्यक्त गर्न केही बेरमा असुनसियनतर्फ प्रस्थान गर्न लागेको उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

ताइवनी नेताहरूबाट हुने हरेक विदेश भ्रमणलाई चीनले गम्भीर भएर हेर्ने गरेको छ । अमेरिका भ्रमण उसका निम्ति अत्यन्त संवेदनशील विषय बन्दै आएको छ । यसअघि राष्ट्रपति साई इङ्गवेनको भ्रमणबाट क्रुद्ध भएको बेइजिङले उपराष्ट्रपतिको भ्रमणलाई लिएर अहिलेसम्म केही प्रतिक्रिया जनाएको छैन ।

ताइवान आफ्नो भूमि भएको दाबी गर्दै बेइजिङले आवश्यक परेमा बल प्रयोग गरेर एक दिन आफ्नो नियन्त्रणमा ल्याउन सकिने बताउँदै आएको छ । उसले त्यहाँ राजनीतिक एवं सैन्य दबाब पनि बढाउँदै आएको छ । ताइवानसँग अन्य देशले औपचारिक सम्बन्ध स्थापना तथा भ्रमणलगायत अन्य तहमा हुने आदानप्रदानको बेइजिङले विरोध गर्दै आएको छ । संसारका सबै देशबाट ‘एक चीन सिद्धान्त’को पूर्ण परिपालना हुनुपर्नेमा पनि उसले जोड दिँदै आएको छ ।

आगामी वर्ष हुने राष्ट्रपतीय निर्वाचनका उम्मेदवार उपराष्ट्रपति विलियम प्रस्थानका क्रममा न्युयोर्क र स्वदेश फर्कदा सान फ्रान्सिस्कोमा रोकिने कार्यक्रम छ । अमेरिकामा रहँदा अमेरिकी मित्रहरूलाई भेट्न आफू उत्साहित रहेको उहाँले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । भर्जिनियामा रहेको ताइवानको अमेरिकी संस्थानका अध्यक्ष लौरा रोजेनबर्गरले उनलाई स्वागत गर्न अमेरिकी अधिकारीहरू उत्सुक रहेका बताएकी छन् ।

गत अप्रिलमा क्यालिफोर्नियामा राष्ट्रपति साईले अमेरिकी प्रतिनिधिसभाका सभामुख केभिन म्याकार्थीसँग भेट गरेपछि रिसाएको चीनले ताइवानको जलक्षेत्र र आकाशमा बृहत् शक्ति प्रदर्शनका साथ तीनदिने सैन्य अभ्यास गरेको थियो ।