स्वास्थ्य

मकवानपुरमा आँखा पाक्नेका बिरामी बढे, अस्पतालमा उपचार गराउनेको भीड

२९ साउन, बागमती । हेटौँडालगायत मकवानपुर जिल्लामा आँखा पाक्ने रोगका बिरामीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ ।

आँखा पाक्ने रोग लागेपछि हेटौँडा सामुदायिक अस्पतालमा उपचार गराउनेको सङ्ख्या बढ्दै गएको छ । आँखा रातो हुने, चिलाउने, दुख्ने र आँखाबाट पानी आउने गरेपछि उपचार गराउनेको सङ्ख्या अहिले अत्यधिक भएको अस्पताल प्रशासनले जनाएको छ ।

दैनिक दुई सयको हाराहारीमा उपचार गराउन आउने आँखाका बिरामी रहेको सो अस्पतालमा अहिले दैनिक सात सयसम्म आँखा पाक्ने रोगको बिरामी आउने गरेको बताइएको छ ।

अस्पतालका नेत्र विशेषज्ञ डा. सुनिल थकालीले सो अस्पतालमा आँखा पाक्ने रोगको सङ्क्रमणका बिरामी दैनिक करिब सात सयको हाराहारीमा आउने गरेको जानकारी दिए ।

आँखाका बिरामीको सङ्ख्या अत्यधिक भएपछि अस्पतालले उपचार कसरी दिने भन्ने विषयमा बैठक बसेर छलफलसमेत भएको उनले भने ।

बैठकले आकस्मिक उपचारका लागि मात्र आउनका लागि सूचना जारी गरेकोे छ भने अस्पतालको क्षमताअनुसार दैनिक पाँच सय मात्र टिकट वितरण गर्ने प्रणाली सुरु गरिएको बताइएको छ ।

अस्पतालमा उपचार गराउन आउनेमध्ये बालबालिका अत्यधिक रहेको अस्पतालका प्रमुख सुधीर श्रेष्ठले जानकारी दिए । विद्यालयमा एउटै कक्षामा धेरै बालबालिका अध्ययन गर्ने र बस्ने गर्दा सो रोगको सङ्क्रमण विद्यार्थीहरूमा बढ्दै गएको हो । ती बालबालिकाबाट घरका सदस्यहरूमा आँखा पाक्ने रोग सरिरहेको छ ।

अस्पतालका अर्का आँखा विशेषज्ञ डा एलिना गौचनका अनुसार बिरामीको सङ्ख्या बढ्दै गएपछि अस्पतालको फार्मेसीमा मौज्दात औषधि सकिन लागेको र अभावको स्थिति आएको छ ।

बिरामी जति सङ्ख्यामा बढ्दै जान्छ त्यति नै सङ्ख्यामा औषधिको आवश्यकता रहेकाले अबको केही दिनमा औषधिको अभाव हुने निश्चित रहेको उनले बताए । यस्तो अवस्थामा पनि सङ्क्रमणका रूपमा फैलिएको सो रोगको सम्बन्धमा हेटौंडा उपमहानगरपालिका, जनस्वास्थ्य कार्यालय हेटौँडा र अन्य पालिकाले खासै ध्यान नदिएको अस्पतालका चिकित्सकहरूको गुनासो छ ।