समाचार

माघ १४ देखि १८ गतेसम्म महाधिवेशन गर्ने एकीकृत समाजवादीको निर्णय

७ भदौं, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले आगामी माघ १४ गतेदेखि १८ गतेसम्म पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको आयोजना गर्ने भएको छ ।

मंगलबारदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठकले आगामी माघ १४ गतेदेखि १८ गतेसम्म पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको आयोजना गर्ने निर्णय गरेको पार्टीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

प्रवक्ता खतिवडाले मुलुकको रूपान्तरणकारी एजेन्डाका साथ मेची–महाकाली राष्ट्रिय अभियान आयोजना गरिने पनि बताए । त्यस्तै, बैठकले पार्टीमा युवा विद्यार्थीको सहभागिता बढाउने उद्देश्यले महाधिवेशनअगावै युवा विद्यार्थीलक्षित विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको उनले बताए ।

बैठकले देशभर पार्टीको विस्तार गरी आगामी २०८३ सालको स्थानीय तहको निर्वाचनमा लड्ने र बहुसंख्यक पालिकाहरूमा बहुमत ल्याउन सक्नेगरी पार्टीको निर्माण गरेरमात्रै त्यो अभिभारा पूरा गर्न सकिने र आगामी दिनमा सबै राजनीतिक र साङ्गठनिक प्रयासहरू त्यसकै लागि केन्द्रित हुने निर्णय गरेको छ ।

त्यस्तै कार्यक्षेत्रको विभाजन गर्दा सामान्यतः संघीय निर्वाचन क्षेत्रलाई आधार बनाएर केन्द्रीय कमिटीका सदस्यको जिम्मेवारी तोक्ने निर्णय गरेको छ । मंसिर मसान्तसम्म कमिटी नभएका पालिका र वडाहरुमा कमिटी गठन र सबै कमिटीहरुले सदस्यताको वितरण गर्ने काम हुने प्रवक्ता खतिवडाले जानकारी दिए ।