अन्तर्राष्ट्रिय

प्रिगोजिनको मृत्यबारे प्रशासनमाथि लागेका आरोप ‘पूर्णरूपमा झूट’ भएको क्रेमलिनको दावी

८ भाद्र, एजेन्सी । क्रेमलिनले रूसमा विद्रोहको नेतृत्व गरेको दुई महिनापछि विमान दुर्घटनामा मृत्यु भएका वाग्नर समूहका प्रमुख येवगेनी प्रिगोजिनको मृत्युको आदेश दिएको भन्ने अफवाहलाई शुक्रबार खण्डन गरेको छ ।

मस्को र सेन्ट पिटर्सबर्गको बीचमा प्रिगोजिन बोकेको निजी विमान दुर्घटना भएपछि क्रेमलिनको संलग्नता हुनसक्ने अनुमान गरिएको छ ।

पश्चिमा देशहरू, क्रेमलिनका आलोचकहरू र क्रेमलिन समर्थक केही व्यक्तिहरूले मृत्युबारे विभिन्न अड्कलबाजीहरू गरेका छन् ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले शुक्रबार पत्रकारहरूसँगकाृ कुराकानीमा यो घटनालाई ‘दुःखद’ भएको र अधिकारीहरूको सम्भावित संलग्नताको बारेमा सार्वजनिक बहसलाई स्वीकार गरिने बताएका छन् ।

“निस्सन्देह, पश्चिममा, यो अनुमानलाई एक निश्चित कोणबाट प्रस्तुत गरिएको छ । यो सबै सरासर झूट हो,” पेस्कोभले भने । उनले सबैलाई धैर्य गर्न आग्रह गर्दै जारी अनुसन्धानले घातक दुर्घटनाको बारेमा तथ्यहरू प्रकट गर्ने बताएका छन् ।

रूसी अधिकारीहरूले हवाई यातायात उल्लङ्घनको बारेमा अनुसन्धान सुरु गरेका छन् तर अहिलेसम्म अनुसन्धान वा घटनाको विस्तृत विवरण सार्वजनिक गरेका छैनन् ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार दुर्घटनाप्रति आफ्नो मौनता तोड्दै विमानमा सवार १० जनाको परिवारप्रति समवेदना प्रकट गर्दै घटनालाई ‘त्रासदी’ को संज्ञा दिएका छन् ।

गत जुनमा रूसको सैन्य नेतृत्वविरुद्ध सशस्त्र विद्रोहको नेतृत्व गरेका प्रिगोजिनले आफ्नो जीवनमा केही गम्भीर गल्ती गरेको र यो उनको जीवनको ‘जटिल नियति’ भएको उनले बताए ।

अल्पकालीन तर रक्तपातपूर्ण अशान्तिलाई पर्यवेक्षकहरूले पुटिनको लामो शासनका लागि सबैभन्दा ठूलो खतराको रूपमा हेरेका थिए ।
पेस्कोभले भने, “अनुसन्धानको रिपोर्ट आउनेबित्तिकै ती सबै सार्वजनिक हुनेछन् ।”

पुटिन प्रिगोजिनको अन्त्येष्टिमा सहभागी हुने वा नहुने सम्भावनाबारे सोधिएको प्रश्नमा उनले भने, “राष्ट्रपतिको कार्यतालिका अहिले निकै व्यस्त छ । अहिले अन्त्येष्टिको कुनै मिति तोकिएको छैन, यस विषयमा कुरा गर्न सम्भव छैन ।”