समाचार

महानगरका  विद्यालयमा एआई कक्षा सुरु, विश्वका १६०  देशका क्लब सञ्जालमा जोदिदै 

९ भदौ, काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)ले महानगरका सामुदायिक विद्यालयको गुणस्तरमा क्रमिक सुधार गरेका छन् । शाह महानगरको प्रमुखमा नियुक्त भए लगतै शिक्षामा भएको विकृति र विसङ्गतिलाई अत्भुद  रुपमा सुधार गर्दै आएका छन् । 

विद्यालयमा मनपरी रूपमा शुल्क असुल्ने प्रवृत्तिलाई निश्चित दायरामा ल्याउनु, विद्यालयमा राजनीतिक सङ्गठनको गतिविधि पूर्ण रूपमा बन्देजको घोषणा गर्नु र आधुनिक शिक्षा पद्धतिमा आधारित बुक फ्रि डे मार्फत विद्यार्थीलाई प्राविधिक शिक्षालाई विशेष प्राथमिकता दिएका छन् । 

प्रमुख शाहले महानगर भित्रका सामुदायिक विद्यालयहरूमा प्रत्येक शुक्रवार बुक फ्री डे घोषणा गरेर कक्षा र उमेर समूह अनुसार व्यवहारिक शिक्षा तथा प्राविधिक शिक्षामा विशेष प्राथमिकता दिँदै आएका छन् ।  

बुक फ्री डे अन्तर्गत  भानु मा.वि. मा रोबोटिक्स, कृत्रिम बौद्धिकता (एआई) र कोडिङका कक्षा सुरु गरेका छन् ।  कोडिङ सिकाइअन्तर्गत कक्षा ३ देखि ६ सम्मका विद्यार्थीहरूलाई ब्लकमा आधारित कोडिङ सिकाइएको छ । यस्तै कक्षा ७ र ८ मा विद्यार्थीलाई पाइथन प्रोग्रामिङ् सिकाइएको छ। विद्यार्थीहरूको उमेर समूह र सिक्न सक्ने क्षमताका आधारमा कार्यक्रम छनौट गरिएको हो । यस कार्यक्रमबाट सामुदायिक विद्यालयहरूबाट प्राविधिक अन्वेषण र विकासमा सघाउन पुग्नेछ । विद्यालयमा रोबोटिक्स, कृत्रिम बौद्धिकता (एआई) का कक्षाहरू पनि चलिरहेका छन् ।

महानगरपालिकाका १४ वटा विद्यालयमा कोडिङ क्लब गठन भइसकेका छन् । उनीहरूको काम विश्वका १६० भन्दा धेरै देशमा क्लब सञ्जालमा जोडिने प्रमुख शाहले सामाजिक सञ्जाल मार्फत बताएका छन् ।

हाल काठमाडौँ महानगरभित्र ८९ वटा सामुदायिक विद्यालय छन् । त्यसमा ५९ माध्यमिक विद्यालय र ३० प्राथमिक विद्यालय छन् ।