समाचार

गठबन्धनले बारम्बार संविधान विपरीत काम गरेको खनालको आरोप

९ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले सत्ता गठबन्धनले बारम्बार संविधान विपरीत काम गरेको टिप्पणी गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका खनालले संविधानको रक्षा गर्ने भन्ने गठबन्धनले नै बारम्बार संविधान मिचेको बताएका हुन् ।

शनिबार काठमाडौंमा पार्टी स्थापना दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने, “हामी संविधानको रक्षा गर्ने भन्छौं, तर संविधानको रक्षा गर्ने हाम्रो जो गठबन्धन छ, त्यही गठबन्धनले नै संविधानको एकपछि अर्को उल्लंघन गरिरहेको छ भनेर सर्वोच्च अदालतले फैसला दिइरहेको छ, कोशीमा मात्रै दुईचोटी संविधानको उल्लंघन भयो भनेर सर्वोच्च अदालतले फैसला दिइरहेको छ ।”

खनालले कोशी प्रदेश विषयमा पार्टीले स्पष्ट धारणा राख्नुपर्ने बताए ।”‘हाम्रो पार्टीले कस्तो धारणा राखिरहेको छ, हाम्रो पार्टी क्लियर हुनुपर्छ, हामी गठबन्धनको नाउँमा उनीहरुले गरेका गलत कामको शिकार हुनुहुँदैन । हाम्रो पार्टीले आफ्नो स्वतन्त्रतालाई कायम राखेर अगाडि बढ्नुपर्छ’, उनले भने ।