समाचार

भोलिदेखि मुद्दाको पेशी तारिख स्वचालित प्रणालीबाट : प्रधानन्यायाधीश

१० भदौ, काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायका उपभोक्तालाई छिटो र सहजरुपमा न्याय दिने उद्देश्य सोमबारदेखि पेशी तारिखका लागि स्वचालित (अटोमेसन) प्रणाली लागू गर्ने बताएका छन् ।

संवैधानिक तथा न्यायिक पत्रकार मञ्चद्वारा नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठलाई बधाई तथा शुभकामना दिन आज आयोजित कार्यक्रममा उनले भोलिदेखि उक्त प्रणाली लागू गर्न लागिएको जानकारी दिए ।

“पहिला सर्वोच्च अदालतमा परीक्षणका रुपमा मुद्दाको पेशी तारिख अटोमेसन प्रणालीबाट सुरु गरिन्छ, परीक्षण सफल भए काठमाडौँ जिल्ला अदालत र धेरै मुद्दा भएका अदालतमा प्रयोगमा ल्याइनेछ”, प्रधानन्यायाधीश श्रेष्ठले भने । यो प्रविधि सर्वोच्च अदालतको सूचना प्रविधि शाखाले बनाएको भन्दै उनले यसको प्रयोग सफल भए न्यायसम्पादनमा सबैलाई फाइदा पुग्ने बताए ।

उनले न्यायाधीश नियुक्ति प्रक्रिया जतिसक्दो छिटो गर्नका लागि आफू लागिरहेको र सक्षम न्यायाधीश नियुक्ति गरेर न्यायलयप्रति जनआस्थावृद्धिका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे । “न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढिसकेको छ, न्यायाधीशको सङ्ख्या कम हुँदा न्याय सम्पादनमा कठिनाइ भइरहेको छ”, प्रधानन्यायाधीश श्रेष्ठले थपे, “सक्षम न्यायाधीश नियुक्ति हुनेमा विश्वास दिलाउँछु ।”