पर्यटन/संस्कृति

आँसु र हाँसोको सङ्गम पर्व भक्तपुरको सापारु

१४ भदौ, भक्तपुर । मृतकको आत्मशान्तिको कामना गर्दै हाँस्यव्यङ्ग्य र ख्याल ठट्टासहित आज भक्तपुरका नेवार समुदायले धुमधामका साथ सापारु (गाईजात्रा) पर्व मनाइँदैछ ।

धार्मिक र सांस्कृतिक महत्वको गाईजात्रा भक्तपुर नगरमा मुलुकका अन्य भागमा मनाउनेभन्दा विशेष र मौलिक शैलीमा मनाउने गरिन्छ । भक्तपुरमा गाईजात्रालाई आँसु र हाँसोको सङ्गम पर्वकारुपमा लिइन्छ । शोकलाई हाँसोमा परिवर्तन गर्ने प्रतिकात्मक अर्थ र सन्देश बोकेको पर्वका रुपमा भक्तपुर नगरको गाईजात्रालाई लिइन्छ ।

मृतकका घरबाट गाई निकाल्दा आफन्त मृतकको सम्झनामा रुनुपर्ने परम्परा एकातिर छ भने अर्कोतर्फ विभिन्न खालका हाँस्यव्यङ्ग्य र ख्यालठट्टासहितका झाँकी नगरपरिक्रमा गरी भक्तपुरमा गाईजात्रा मनाइन्छ । भक्तपुरको गाईजात्रा हेर्न उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती र विदेशीसमेत हजारौँको सङ्ख्यामा हेर्न आउने गर्दछ । त्यसैले भक्तपुरको गाईजात्रा विदेशमा समेत प्रख्यात छ ।

भक्तपुरमा गाईजात्राको औपचारिक सुरुबाट जनैपूर्णिमाको साँझ नै गरिन्छ । जनैपूर्णिमाको साँझ गुठी संस्थानले सुकुलढोकास्थित नाट्येश्वरीको पूजा गरी निकालेको घिन्ताङघिसी नाचले नगरपरिक्रमा गरेसँगै भक्तपुरमा गाईजात्रा सुरु हुन्छ ।

जनैपूर्णिमाको साँझ सुरु भए पनि सर्वसाधारणले मुख्यरुपमा भाद्रशुक्ल प्रतिपदाको दिन सापारु मनाइन्छ । भक्तपुरमा सर्वसाधारणले मृतकको सम्झनामा गाईजात्रा निकाल्नुअघि प्रतिपदाको दिन सबेरै दरबार स्क्वायरस्थित तलेजु भवानीको र अन्त्यमा साँझ तमारीस्थित भैरवनाथको गाईजात्रा निकाल्ने परम्परा छ ।

भक्तपुरको गाईजात्राको मुख्य आकर्षण घिन्ताङघिसी नाच हो । अर्को आकर्षण मृतकको सम्झनामा नगरपरिक्रमा गरिने ताहासा (तहामचा) हो । घिन्ताङघिसी नाचसँगै ताहासालाई परिक्रमा गराए मृतकलाई स्वर्ग जाने बाटोमा भएका अप्ठ्यारो हट्ने जनविश्वास छ ।

घिन्ताङघिसी धिमे, भुस्या, खीं, ताय् बाजाको संयुक्त ताल र लयमा गोलाकार काठको लट्ठी एकआपसमा जुधाएर नाचिने नाच हो । यो नाच समूहमा नाचिने भएकाले जति बढी सहभागीको सङ्ख्या हुन्छ त्यति नै मनमोहक देखिन्छ । घिन्ताङघिसीमा बच्चादेखि वृद्धसमेत सहभागी हुन्छन् ।

ताहासा चार वटा बाँसबाट बनाइन्छ । हरियो करिब १५ फिट लामो चार वटा बाँसलाई ठाडो पारेर आयातकारमा बाँधेर त्यसलाई कपडाले बेरेर ताहासा बनाइन्छ । ताहासाको शिरमा गाईको चित्र राखी महिला र पुरुषको सङ्केत जनाउन कपडाले बेताली बाँधिन्छ । त्यसमा परालको सिङ र सिङमाथि पलेस्वाँ लप्ते (कमलको फूलको पात), चोबो (कपाल जस्तो देखिने) मयुँरको पङ्खा र रङ्गीचङ्गी फूलले सजाइन्छ । टाउको दुई छेउमा सिङसँगै पतचा( रङ्गीन माथि गोलाकार तर झण्डा जस्तो देखिने) सजाइन्छ । द्योःगाचा अष्टमातृकाको प्रतिक खास्तो, दुई वटा लामो पटुका राखी छाता ओढाइन्छ । ताहासाको बिचमा जामाचा लगाइन्छ । अगाडि पछाडि मृतकको र भगवानको तस्बिरसँगै ऐना राखिन्छ ।

भक्तपुरका कुमालेले भने मृतकको आत्माको शान्तिका लागि माटोको गाई बनाएर नगरपरिक्रमा गराउँछन् । कुमालेको पुख्र्यौली पेसा माटाका भाँडा बनाउने भएकाले उनीहरुले आफ्नै मौलिक पुख्र्यौली पेसाअन्तर्गतको माटोको आकर्षक गाई बनाएर परिक्रमा गराइने गरेको संस्कृतिकर्मी प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठ बताउँछन् ।

गाईसँगै मृतकको स्मृति झल्काउने करुण रसप्रधान गीति लीला, रामायण र श्रीकृष्णा लीला पनि प्रदर्शन गरिन्छ । केटाकेटीलाई आकर्षक तवरले महादेव-पार्वती, राधाकृष्णका रुपमा श्रृङ्गारी बाजागाजाका साथ वासा लुइके गरेर परिक्रमा गराइन्छ ।

गाईजात्रा निकाल्नुअघि ताहासा, डोको, राधाकृष्ण, महादेव पार्वतीलगायत मृतकको प्रतिक सङ्केत जनाउने, गाईलाई सगुन दिन मृतकको छोरी र किरियापुत्रीलाई पण्डितले पूजा सङ्कल्प गराई श्राद्धकर्मको विधिविधान पुरागरी गौदान गराइन्छ । यो बेलामा मृतकका घरपरिवारका महिला रुने परम्परा छ ।

नेवार समुदायमा सगुन दिँदा रुनु भनेको मृतकप्रतिको सम्मानका रुपमा लिइन्छ । सगुन पूजा सकेपछि काँचो सानो केराउ, नासपाती, काँक्रोलगायत फलफूल र दही चिउरा टोल छरछिमेकमा बाहिर बसेकालाई बाँडिन्छ । बाँसको नोल लगाएर ताहासालाई मृतकका आफन्तले काँधमा बोकेर अगाडि पछाडि पटुका समातेर परिक्रमा गराइन्छ । परिक्रमा गरउँदा ताहासामा मृतकको तस्बिरले जात्रा हेर्न आएकालाई कसको ताहासा निकालेको स्पष्ट हुन्छ ।

परिक्रमा गर्दा किरियापुत्र, छोरीहरु र मृतकका परिवारका अन्य सदस्य हातमा धुप बालेर जाने परम्परा छ । यसरी गाईलाई परिक्रमा गराउँदा मृतकका परिवारले र स्थानीयले आफ्नो गच्छेअनुसार मालपुवा स्वारी, फलफूल, बिस्कुट, दक्षिण, हरियो केराउ, काँक्रो, नासपाती र जुस दान दिने परम्परा छ ।

भक्तपुरमा मृतक महिला, पुरुष र बालबालिका को हो, त्यसको स्पष्ट सङ्केत दिने गरी गाईजात्रा निकालिन्छ । मृतक बच्चा हो भने डोको, महिला हो भने रातो निलो कपडामा सारी र हाकुपटासीसहितको ताहासालाई परिक्रमा गराइन्छ । पुरुष हो भने सेतो कपडाले बेरेको हुन्छ । गर्भवतीको हो भने गाईसँगै अलि तल सानो गाई बनाएर लाने परम्परा छ । त्यसैगरी एकापरिवारको दुई सदस्यको मृत्यु भयो भने एउटै ताहासामा तल अर्को सिंङ राखेर मृतकको तस्बिरसहित काखमा राखेर लाने परम्परा छ ।

गाईजात्राको दिन विधिवत्रुपमा गाईलाई परिक्रममा गराएमा मृतात्माहरु सजिलैसित स्वर्गलोकमा पुग्छन् भन्ने धार्मिक विश्वास छ । गाईजात्राको दिन स्वर्गमा ढोका खुल्ने र मृतकका आत्माले गाईको पुच्छर समातेर वैतणी नदी पार गरी स्वर्गलोकमा पुग्छ भन्ने धार्मिकविश्वासले गाईजात्रा निकाल्छ ।

भक्तपुरमा स्थानीय लाकोलाछे टोलबाट भैरवनाथको र खँलाबाट नकिन्जु अजिमाको ताहासा निकालेपछि गाईजात्रा सम्पन्न गरिन्छ । भैरवको ताहासा निकाल्दा स्थानीय टोलमा वर्षदिन दिवङ्गत भएका सबैको ताहासा भैरवको ताहासासँगै लाने चलन छ । भैरवनाथको ताहासालाई परिक्रमा गराउँदा तमारी, दरबार स्क्वायर र तचपालमा तीनतीन पटक परिक्रमा गराइन्छ । अन्तमा भैरवनाथको ताहासा चुपिङघाटस्थित पुलमा लगेर ताहासा बिगारी पराल हनुमन्ते नदीमा सेलाउने परम्परा छ ।

भक्तपुरमा गाईजात्रा कृष्णाष्टमीसम्म नौ दिन आठ रात मनाइन्छ । प्रतिपदाको दिनभरी अन्य दिन साँझ विभिन्न झाँकीसहितको घिन्ताङघिसी नाच निकालेर सर्वसाधारणलाई मनोरञ्जन दिने गरिन्छ । गाईजात्राकै अवसरमा भक्तपुरमा भाद्रकृष्ण अष्टमीसम्म नगरका देवीदेवता दत्तात्रय, भैरव, भिमसेन, बाराही, कृष्णको खट जात्रा गरिन्छ । भक्तपुरमा डबली डबलीहरु माक प्याखं, नागाचा प्याखं, लाखे प्याखं, देवी प्याखं, भैल प्याखं, भालुचा प्याखं, रामायण, लुसीचा प्याखं, खिचा प्याखं लगायतका नाच प्रदर्शन गर्ने प्रचलन छ ।

शोक र उल्लासको सङ्गमका रुपमा मनाइने गाईजात्रा पर्वलाई काठमाडौँका राजा प्रतापमल्ल, भक्तपुरका राजा जगतप्रकाश मल्ल र ललितपुरका राजा सिद्धिनरसिंह मल्लको पालादेखि बाजागाजाको संस्कार थालिएको प्रा डा श्रेष्ठ बताउँछन् । श्रेष्ठका अनुसार लिच्छवीकालमा रमाइलोका लागि गोरु जुधाउने परम्परा थियो । अनन्तलिङ्गेश्वरको अभिलेखमा गो युद्ध उल्लेख छ । गोरु जुधाएर रमाइलो गर्ने र मृत्यु संस्कारमा गाईजात्रा गर्ने चलन पूर्वमध्यकालमा सुरु भएको श्रेष्ठको भनाइ छ ।