२३, भदौ, चितवन । सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अब कांग्रेसको नेतृत्वमा सरकार बनाउन लाग्नुपर्ने बताएका छन् ।
शनिबार कांग्रेस चितवनको जिल्ला सम्मेलन उद्घाटन गर्दै नेता कोइरालाले अहिले माओवादी केन्द्र नेतृत्वको सरकारमा ९ जना मन्त्री भए पनि त्यसको कुनै अर्थ नरहेको भन्दै कांग्रेसले नै सरकारको नेतृत्व गर्नुपर्ने बताए ।
“हामीसँग ९० सिट छ, ९ जना मन्त्री छन्, कसैलाई लागेको होला मन्त्रीले काम गरेका छन्”, उनले अघि भने, “कसैलाई लागेको होला केही काम गरेका छैनन्, तर मलाई के लाग्छ भने संसदीय प्रणालीमा प्रधानमन्त्री बाहेक अरु मन्त्रीको कुनै रोल हुँदैन ।”
“मन्त्रिपरिषदमा प्रधानमन्त्री र मुख्यसचिव बसेर गर्ने निर्णय नै अन्तिम हुन्छ । यसकारण अब कांग्रेसको सरकार हुन जरुरी छ अनि मात्रै अगाडि बढ्न सकिन्छ”, नेता कोइरालाले भने ।
त्यस्तै, उनले देशमा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक धार्मिक, कुटनीतिक चारैतिर अराजकता फैलिरहेकोले यसलाई समयमा नै नियन्त्रण गर्न कांग्रेसको नेतृत्वको सरकार आवश्यक भएको दावी गरे ।




