समाचार

शिक्षामा दलीय स्वार्थ हावी हुनु हुँदैन : पूर्वराष्ट्रपति भण्डारी

२९ भदौ, भक्तपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षामा दलीय स्वार्थ हावी हुन नहुने बताएका छन् ।

आज बाल दिवसको अवसरमा मदन भण्डारी मेमोरियल स्कुल जोरपाटीमा आयोजित कार्यक्रममा उनले शिक्षामा दलीय स्वार्थ हावी हुँदा राष्ट्रको अवस्था खराब बाटोमा जाने बताए ।

पूर्वराष्ट्रपति भण्डारीले भने, “शिक्षाको नीति बनाउँदा दलीय आँखाले हेर्नु हुँदैन, शिक्षा भनेको विकासको पहिलो पूर्वाधार हो, त्यसैले शिक्षामा दलीय स्वार्थ हावी हुँदा राष्ट्रको अवस्था खराब बाटोतर्फ जान्छ ।” उनले राष्ट्रिय शिक्षा नीति बनाउँदा पार्टीको चस्मा लगाउन हुँदैन भन्दै राष्ट्रको चस्मा लगाएर शिक्षा नीति बनाउनु पर्ने औँल्याए ।

संविधानले सोचे जस्तो शिक्षा दिन नसकिए देशको अवस्था सुधारिँदैन भन्दै उनले युवा शक्तिको विदेश पलायन रोक्न उचित र स्वदेशमै काम लाग्ने शिक्षा दिन आवश्यक रहेको बताए ।

“हाम्रो देश कृषि प्रधान देश हो, वन जङ्गलको धनी देश, जलस्रोतको धनी देश हो, उर्वर भूमि हामीसँग छ, तर खाद्यान्न विदेशबाट ल्याउनु पर्ने अवस्था छ”, पूर्वराष्ट्रपति भण्डारीले भने, “खेतबारी बाँझै छन्, कृषिमा काम गर्नेलाई हेला गर्ने सोच हामीसँग छ । अतः यस्तो सोचलाई अब अन्त्य गर्नुपर्छ ।”

कार्यक्रममा मदन भण्डारी फाउन्डेसनका अध्यक्ष एवं पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले जुन घरमा मानिसको जन्म हुन्छ उसले त्यही घरको जात, धर्म, परम्परा अपनाउने भएकाले मानिस जन्मदै जात, धर्म परम्परा भनेर लिएर नआउने भएकाले जात, धर्मलाई विवादमा ल्याउन नहुने बताए ।