गण्डकी प्रदेश

अभिभावकविहीन बालबालिकाका लागि बालगृह

१२ असोज, ढोरपाटन (बागलुङ) । तमानखोला गाउँपालिकाले बालगृह सञ्चालनमा ल्याएर अभिभावकविहीन बालबालिकालाई आवासीय शिक्षाको व्यवस्था गरेको छ । गाउँपालिकाले वडा नं ३ को तमान गाउँमा ‘तमानखोला बालगृह’ सञ्चालनमा ल्याएर पालनपोषण र कक्षा १२ सम्म पढाउने व्यवस्था मिलाएको छ ।

सुरुमा ३४ बालबालिका रहेकामा अहिले २७ जना रहेका बालगृह सञ्चालक समितिका संयोजक एवं वडा नं ३ का अध्यक्ष झकबहादुर बुढामगरले बताए। गाउँ–गाउँमा पुगेर अनाथ बालबालिका खोजेर ल्याई यहाँ राखेर उनीहरुको पालनपोषण र पढाइको व्यवस्था मिलाइएको उनले बताए। अहिले बालबालिको पढाइ राम्रो बन्दै गएको उनको भनाइ थियो ।

तमानखोला गाउँपालिका–६ नर्जाखानीका १५ वर्षीय दीपेन्द्र विक हिजोआज तमानखोला बालगृहमा बस्दै आउनुभएको छ । सानै उमेरमा आमा बितेपछि उहाँलाई हजुरबुबाहजुरआमाको जिम्मा लगाइएको थियो । कक्षा ९ मा पढ्ने उहाँ बुढा हजुरबुबाहजुरआमासँग कष्टकर जीवन बिताइरहेका थिए । दीपेन्द्रलाई गत वर्ष गाउँपालिकाले बालगृहमा ल्याएर निःशुल्क पालनपोषण र पढाइ लेखाइको प्रबन्ध मिलाएको छ ।

घरमा हुँदा राम्रोसँग पढ्न र पेटभरि खाना नपाएको बताउँदै दीपेन्द्रले अहिले दैनिक विद्यालय जाने र पेटभरि खान पाएको बताए। सानैमा आमा गुमाउनुभएका दीपेन्द्रले आमाको माया नपाए पनि हजुरबुबा र हजुरआमाको माया भने प्रशस्त पाए। अहिले बालगृहमा साथीभाइबाट पनि उत्तिकै माया पाएका छन् । घरमा हुँदा भोगेका दुःख, कष्टलाई दीपेन्द्रले भुल्न सक्नुभएको छैन । घरपरिवारमा हुँदा दुःख पाएको भए पनि अहिले धेरै सहजरूपमा दैनिकी चलेको उनको भनाइ थियो ।

बालगृहमा आफूजस्ता थुप्रै अभिभावकविहीन बालबालिका रहेका भन्दै सबैसँग मिलेर बस्ने गरेको दीपेन्द्रले बताउनुभयो । बेलाबेला गाउँपालिका अध्यक्ष, उपाध्यक्षलगायतका जनप्रतिनिधि आएर नयाँ र सिर्जनशील काम गर्न प्रेरित गर्ने र आफूहरूको समस्या बुझ्ने गरेको उहाँको भनाइ थियो । अहिले बालगृहमा रहेका बालबालिकासँग एउटै परिवारको सदस्यजस्तै मिलेर बस्ने तथा आवश्यक सामान समयमै पाउने गरेको विकले बताए।

“म सानै हुँदा आमा बित्नुभएछ, बाजे र बजैले निकै दुःख गरेर मलाई हुर्काउनुभयो, अहिले त अलि ठूलो भएँ, पोहोर सालदेखि गाउँपालिकाका सरहरूले यहाँ लिएर राख्नुभएको छ, बाबाले बिहे गरेर मलाई छाडेर जानुभयो, कहाँ हुनुहुन्छ थाहा छैन । घरमा हुँदा पढ्न मन भए पनि राम्रोसँग पढ्ने वातावरण थिएन”, उनले भने, “अहिले धेरै सुविधा पाएको छु । पढाइ पनि राम्रो भएको छ, दिनदिनै स्कुल जान पाएको छु, खुसी लागेको छ ।”

तमानखोला गाउँपालिका–२ भयर भोङ्गाकी १४ वर्षीया निता सिर्पाली पनि यही बालगृहमा बस्दै आएका छन् । निताको बुबाको मृत्युपछि आमाले अर्को बिहे गरेर गए। बुबाआमा नभएपछि हजुरबुबा र हजुरआमासँग बस्दै आएकी निताले सानोमा निकै दुःखदायी जीवन बिताए। अहिले बालगृहमा बस्न थालेपछि उनको दैनिकी फेरिएको छ । परिवारको आर्थिक अवस्था निकै कमजोर हुँदा पढ्न लेख्न नपाएको भन्दै अहिले दैनिक विद्यालय जाने र पढाइ सुधार हुँदै गएको उनले बताए।