खेलकुद

महाकाली नदी किनारमा खुला बिचभलिबल हुने

२३ असोज, महेन्द्रनगर (कञ्चनपुर)। कञ्चनपुरको महाकाली नदी किनारामा रु एक लाख पुरस्कार राशिको खुला बिचभलिबल प्रतियोगिता हुने भएको छ ।

यहाँस्थित नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेक र कञ्चनपुर जिल्ला भलिबल सङ्घको संयुक्त आयोजनामा पहिलोपटक प्रथम पुरुष खुला तथा भेट्रान भलिबल प्रतियोगिता यही असोज २९ गतेदेखि आयोजना हुन लागेको हो ।

आयोजकले सोमबार महेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरी यहाँको भीमदत्त नगरपालिका–१२ ऐरीस्थित भाइरल रोड छेउमा रहेको महाकाली नदीमा बिचभलिबल आयोजना गरिने जानकारी गराएको छ ।

नेपाली सेनाले सैनिक–नागरिक सम्बन्ध थप सुदृढ गर्नुका साथै खेलाडी उत्पादन र खेलकुदको विकासमा टेवा पुग्ने लक्ष्यसहित उक्त आयोजना गर्न लागेको जनाएको छ । प्रतियोगिता मूल आयोजक समिति संयोजक एवं भलिबल सङ्घका जिल्ला अध्यक्ष श्यामसिंह मौनीले खेलकुदको विकाससँगै यहाँका पर्यटकीय क्षेत्रको प्रचार–प्रसारमा समेत आयोजनाले बल पुग्ने बताए।

“शुक्लाफाँटाबाट झोलुङ्गे पुल हुँदै भाइरल रोडसम्म पर्यटक आवागमन बढ्ने अनुमान छ”, उनले भने, “त्यसका लागि सरकारी संयन्त्र र भलिबल सङ्घबीच सहकार्य भएर प्रतियोगिता आयोजना हुँदैछ ।” खुलातर्फ प्रथम स्थान हासिल गर्ने टिमले रु एक लाख नगद, ट्रफी र मेडलबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

त्यसैगरी द्वितीय हुने टिमले रु ५० हजार र तृतीय स्थान ओगट्ने टिमले रु २५ हजार नगद, ट्रफी र मेडलबाट पुरस्कृत गरिने संयोजक मौनीले जानकारी दिए। त्यसैगरी भेट्रान (चालीस वर्षभन्दा माथि) तर्फ पहिलो हुने टिमले रु २५ हजार, दोस्रोले रु १५ हजार र तेस्रो हुने टिम रु १० हजार नगद, ट्रफी र मेडलसहित पुरस्कृत हुनेछन् ।

प्रतियोगिता सञ्चालनका लागि विभिन्न उपसमितिसमेत गठन गरिएका छन् भने प्रतियोगिता सञ्चालनका लागि भीमदत्त , बेदकोट र दोधारा चादँनी नगरपालिकाबाट पनि आवश्यक सहजीकरण भइरहेको आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा सेनाको बाहिनी, गण र गुल्मका सैनिक अधिकृतका साथै भलिबल सङ्घका पदाधिकारीको सहभागिता थियो ।