कृषि

पाक्न लागेको धानमा कालोपोके रोग लागेपछि किसान चिन्तित

१६ कात्तिक, नारायणगढ (चितवन) । धानबालीमा कालोपोकेको समस्या देखिएपछि यहाँका किसान चिन्तित भएका छन् । जिल्लाको पश्चिमी क्षेत्रमा लगाइएको धानमा कालोपोकेको समस्या देखिएको हो । पाकेर काट्नेबेला हुनै लागेकोे धानमा कालोपोकेको समस्या देखिएसँगै किसान चिन्तित बनेका हुन् ।

भरतपुर महानगरपालिका–१४ पटिहानीमा धानखेती गर्दै आउनुभएका किसान उमनाथ पौडेल यस वर्ष धानमा कालोपोके रोग महामारीका रुपमा फैलिएको बताउछन् । उनले भने, “जसरी मानिसमा कोरोना र गाईभैँसीमा लम्पी स्किन रोग फैलियो त्यसैगरी अहिले धानमा कालोपोके रोेग महामारीका रुपमा फैलिएको छ । हामी काम गरेर खाने किसानको बिजोग भयो ।”

खासगरी समूहमा लागाइएको पटिहानीको सावा धानमा कालोपोकेको व्यापक महामारी फैलिएको उनको भनाइ छ । उनले भने, “धान काट्नका लागि अझै एक हप्ताजति लाग्छ । यो रोगको समस्या दिनानुदिन वढ्दै गएको छ ।” कालोपोके रोगका कारण धानको बीउ उत्पादन गर्न नमिल्ने भन्दै उनले रोग लागेको धान व्यापारीलेसमेत खरिद नगर्ने हुँदा थप समस्या भएको बताए । गत वर्षको तुलनामा अहिले आधाभन्दा कम धान उत्पादन हुने उनले जानकारी दिए ।

भरतपुर महानगरपालिका वडा नं ५ तोरीखेतका किसान फणिन्द्र पङ्गेनीले पनि पाक्नै लागेको धानको बालामा कालोपोके लागेको र कालोपोकेका कारण धान उत्पादनमा कमी आउने भन्दै चिन्ता व्यक्त गरे । उनी मात्रै नभएर उनीसँगै छर छिमेकमा लगाएको धानखेतीमा समेत कालोपोकेको समस्या देखिए पछि गाउँनै चिन्तित भएको उनले जानकारी दिए ।

गत वर्ष एक कट्ठामा तीन मुरीभन्दा बढी धान उत्पादन गरेका पङ्गेनी यो वर्ष कट्ठाको एक मुरी दश पाथी पनि भित्र्याउने अवस्था नभएको बताउछन् ।  “पहिलेका वर्षमा आँफूलाई खान पुग्ने धान अड्कलेर बाँकी धान बिक्रीवितरण गर्ने हामी किसान यस वर्ष बिक्री वितरण गर्न नपाउने भएका छौँ”, उनी भन्छन् , “यो वर्ष रोगका कारण किसानको घरमा धान नहुने देखियो । अब के गर्ने ।”

कृषि ज्ञानकेन्द्र चितवनका अनुसार पश्चिम चितवनमा लगाइएको धानमा ७५ प्रतिशतमा कालोपोकेको समस्या देखिएको हो । सावा मन्सुली, सावित्रीलगायतका धानमा यो समस्या देखिएको छ । कार्यालयकी सूचना अधिकारी सुरुची त्रिपाठीले जिल्लामा लगाइएको धानमा कालोपोके, नेक ब्लाष्ट, व्याक्टेरीयल प्यानिकल ब्लाष्ट (दाना नलाग्ने) रोगको समस्याले गर्दा धान उत्पादनमा कमी आउने बताउछन् ।

रोगका कारण जिल्लामा धानको उत्पादनमा ३० देखि ५० प्रतिशत सम्म कमी आउनसक्ने उनको आँकलन छ । कालोपोके तथा बालीमा लाग्ने रोग विशेष गरी बीउ, माटो र हावाका कारण लाग्ने उनले बताए । 

अघिल्लो वर्षको बीउमा समस्या हुँदा यो रोगको समस्या बढेको भन्दै उनले कालोपोके रोग ढिलो पाक्ने धानमा पाक्ने समयमा बढी देखिएको जानकारी दिए ।  बीउ राख्ने समयमा सावधानी अपनाउन नसक्दा र लगातार एउटै बाली खेतमा लगाउँदा रोगको सङ्क्रमण बढी हुने त्रिपाठीले बताए ।

बागमती प्रदेश बीउबिजन प्रयोगशाला, हेटौँडाका प्रमुख राजन ढकाल बीउ र माटोका कारण रोगको सङ्क्रमण देखिएको बताउछन्। उनले भने, “सावा मन्सुलीमा रोग प्रतिरोधात्मक क्षमता कम हुनेहुँदा हाल चितवनमा कालो पोके रोगको समस्या बढी देखिएको हो ।”  कालोपोके रोग र नेक ब्लाष्ट जस्ता रोग लागेको धानको बीउ आगामी वर्ष प्रयोग गर्न नहुने उनले जानकारी दिए । उनले भने “बीउ र सन्तुलित मलखादको व्यवस्थापन हुन नसक्दा बालीमा रोगको संक्रमण बढेको हो ।”