शिक्षा

बाल सहभागितालाई घरदेखि राज्य तहसम्म विस्तारमा जोड

काठमाडौँ। बाल सहभागितामा कार्यरत संस्थाहरुको साझा समूह (कन्सोर्टियम–नेपाल) को २४औँ साधारणसभाले बाल सहभागितालाई घरदेखि राज्य तहसम्म विस्तारका लागि जोड दिएको छ ।बालबालिकालाई समाज र सामाजिक जीवनमा सांस्कृतिक, शैक्षिक, आर्थिक र राजनीतिक आयाममा अर्थपूर्ण सहभागिता हुनुपर्नेमा साधारणसभाले जोड दिएको हो । उक्त सञ्जालले सन् २००० देखि यस क्षेत्रमा वकालत गर्दै आएको छ । सभाले सन्तोष महर्जनको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतरुपमा निर्वाचित गरेको छ । महर्जन ‘युवालय’ संस्थामा कार्यरत अधिकारकर्मी हुन् ।

कार्यसमितिको उपाध्यक्षमा प्रदीप लामिछाने, महासचिवमा अनिता पाण्डे, सचिवमा निरिजना भट्ट र कोषाध्यक्षमा प्रकाश वस्ती यचन हुनुभएको छ । हाल ६६ जिल्लाका गरी ९१ संस्था उक्त सञ्जालमा आबद्ध छन् ।

सभाको शनिबार उद्घाटन गर्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले संंविधानको मौलिक हक र प्रचलित कानुनबमोजिम बालबालिकालाई उनीहरूका सवालमा अर्थपूर्ण सहभागिता सुनिश्चित हुनुपर्ने बताए । अध्यक्ष मगरले बाल अधिकारको कार्यान्वयनका लागि सरकारी र गैरसरकारी क्षेत्र मिलेर जानुपर्ने पनि बताए ।

राष्ट्रिय बाल अधिकार परिषद्का सदस्यसचिव इन्दिरा ढकालले बजेट न्यून भएकोले बाल अधिकार र नागरिक स्थानका लागि सोचेजति काम गर्न नसकिएको बताए । परिषद्का पूर्वकार्यकारी निर्देशक मिलन धरेलले बालबालिकालाई अभिभावकले नै बढी समय दिएर उनीहरूको समग्र विकासमा योगदान दिनुपर्नेमा जोड दिए । गैरसरकारी संस्था महासङ्घका अध्यक्ष रामप्रसाद सुवेदीले सरकारले बालबालिका क्षेत्रका लागि पर्याप्त लगानी गर्नुपर्ने आग्रह गरे ।