गण्डकी प्रदेश

कृषिको यान्त्रिकीकरणमा जोड

२० पुस, गण्डकी । पोखरामा आजदेखि सुरु भएको प्रथम प्रदेशस्तरीय कृषि यान्त्रीकरण प्रदर्शनीको उद्घाटन सत्रका वक्ताले व्यावसायिक कृषि विकासका लागि कृषिलाई यान्त्रिकीकरण गर्नुपर्नेमा जोड दिएका छन् । परम्परागत र निर्वाहमुखी कृषि प्रणालीले किसानको उत्थान नहुने भन्दै उनीहरूले आधुनिक कृषि प्रविधिलाई अवलम्बन गर्नुपर्ने धारणा राखेको हुन् ।

पोखरा प्रदर्शनी केन्द्रमा आयोजित प्रदर्शनीको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीले कृषि नै देशको आर्थिक मेरुदण्ड भएको बताए । “हाम्रो अर्थतन्त्र भनेको कृषिमा आधारित हो, तर पछिल्लो समय कृषिजन्य उत्पादनको आयात बढ्दो छ”, उनले भने, “कृषिमा आत्मनिर्भर बन्न कृषिको यान्त्रिकीकरण र व्यावसायीकरण गर्नु जरुरी छ ।”

उत्पादन, उत्पादकत्व वृद्धि र बजारीकरणको सुनिश्चितता हुन नसके कृषि क्षेत्र झनै पछाडि पर्ने मन्त्री जिसीले उल्लेख गरे । कृषि क्षेत्रका समस्या एकातिर र नीति अर्कातिर भएकाले पनि कृषि क्षेत्रमा मुलुकले अपेक्षित फड्को मार्न नसकेको उनको भनाइ छ ।

उनले राज्यले कृषि क्षेत्रको लगानीलाई व्यवस्थित र पारदर्शी बनाउनुपर्ने बताए । उनले गण्डकी प्रदेश सरकारले दोस्रो पञ्चवर्षीय योजनामा कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्ने बताए ।

“पहिलो पञ्चवर्षीय योजनामा प्रदेशको समृद्धिको पहिलो आधार भनेर पर्यटनलाई राखिएको थियो, अबको आवधिक योजनामा भने कृषि पहिलो प्राथमिकतामा पर्छ, कृषिको बजेट पनि आगामी वर्षदेखि बढेर आउँछ”, उनले भने। प्रदेशको कृषि विकास निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले उत्पादन लागत घटाउन कृषिमा यान्त्रिकीकरण आवश्यक रहेको बताए ।

“देशमा श्रमशक्ति घट्दो क्रममा छ, यस्तो अवस्थामा कम लागत र श्रममा बढी उत्पादन लिनका लागि कृषि कार्यमा आधुनिक प्रविधिको प्रयोग गर्नुपर्छ”, उनले भने, “नेपालको भौगालिक विविधताअनुसार जुन क्षेत्रमा जस्तो कृषि औजार, उपकरण र प्रविधि चाहिने हो त्यस्तै सामग्रीको उत्पादन र उपलब्धता हुनुपर्छ ।”

अगुवा किसान चित्रनाथ पौडेलले कृषिमा ८० प्रतिशत महिला आबद्ध रहेकाले कृषियन्त्र महिलामैत्री हुनुपर्ने बताए । उनले यान्त्रिकीकरण मात्र नभएर नहुने भन्दै बीउबिजन, मल, प्राविधिक ज्ञान पनि किसानलाई सँगसँगै दिनुपर्ने उल्लेख गरे ।

प्रदर्शनीको आयोजक संस्था नेपाल कृषि मेसिनरी व्यवसायी सङ्घका अध्यक्ष कृष्ण शर्माले कृषिसँग सम्बन्धित उद्यमी, व्यवसायी र किसानलाई राज्यको साथ चाहिएको बताए । उनले सरकारले कृषिको यान्त्रिकीकरण नीति ल्याए पनि व्यवहारिकरूपमा कार्यान्वयनमा आउन नसकेको उल्लेख गरे ।

“हामी नेपालमै कृषियन्त्र, उपकरण उत्पादन गर्न सक्षम छौँ, तर सरकारले तयारी वस्तुभन्दा कच्चा पदार्थ ल्याउँदा बढी भन्सार शुल्क तोकेको छ, यसरी उद्यमशीलता प्रवर्द्धन हुँदैन”, अध्यक्ष शर्माले भने । उहाँले व्यावसायिक कृषिको विकासका लागि राज्यले किसान र व्यवसायीमैत्री नीति तथा कार्यक्रम ल्याउनुपर्ने धारणा राख्नुभयो ।

पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले प्रदर्शनीमा ७० व्यावसायिक तथा प्रवर्द्धनात्मक कक्ष रहेको जानकारी दिनुभयो । उहाँका अनुसार दुई हजारभन्दा बढी प्रकारका कृषि औजार, उपकरण तथा प्रविधिका सामग्रीे प्रदर्शनीमा राखिएको छ ।

“विदेशी उत्पादक कम्पनीले पनि प्रदर्शनीमा भाग लिएका छन”, उनले भने, “व्यवसायी तथा किसानलाई कृषियन्त्र, उपकरणबारे जानकारी दिनुका साथै बिक्रीको पनि प्रबन्ध गरिएको छ ।” प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रवर्द्धक रहेको सो प्रदर्शनीमा महानगरपालिकाले अनुदानमा आफ्ना किसानलाई कृषि उपकरण र सामग्री वितरणसमेत गरिरहेको महाशाखा प्रमुख कडरियाले बताए ।

पोखरामा पहिलोपटक आयोजना गरिएको उक्त प्रदर्शनीबाट यस क्षेत्रका किसानले प्रत्यक्ष लाभ लिने उनको भनाइ छ । “कम लागतमा कृषि उत्पादन र बजारीकरणका लागि यान्त्रिकीकरणलाई अवलम्बन गर्न यो प्रदर्शनीले किसानलाई प्रेरित गर्छ, नयाँ–नयाँ प्रविधिबारे किसानले सिक्ने र बुझ्ने अवसर पनि पाउँछन्”, महाशाखा प्रमुख कडरियाले भने

प्रदर्शनीमा स्थानीय कृषि उत्पादन, फलफूल, परम्परागत बालीका प्रकार, हस्तकलाका सामग्रीलगायत पनि राखिएको छ । कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकीकरण प्रवर्द्धन केन्द्र, गण्डकी प्रदेशको कृषि विकास निर्देशनालय, पोखरा महानगरपालिका र नेपाल कृषि मेसिनरी व्यवसायी सङ्घको संयुक्त आयोजनामा उक्त प्रदर्शनी सुरु गरिएको हो । आइतबारसम्म सञ्चालन हुने प्रदर्शनीको २० हजारभन्दा बढीले अवलोकन गर्ने आयोजकको अनुमान छ ।