प्रवास

बेलायतमा नेपालीलाई कोठा र जागिर पाउन समस्या, नयाँहरू ठगिने समस्या झनै बढ्दो

२४ पुस, लण्डन । बेलायतमा नेपाली विद्यार्थीलाई जागिर र कोठाको समस्या हुने गरेको छ । बेलायतमा अध्ययन गर्न जाने विद्यार्थीहरूलाई हप्ताको २० घण्टा मात्र काम गर्न दिने प्रावधान भएकाले बिद्यार्थीहरुलाई कोठा भाडा तिर्न र अध्ययन गर्न धेरै नै समस्या हुन थालेको छ  । 

सामान्य सिङ्गल कोठाको ६ सय पाउन्ड सम्म पर्ने र त्यही पनि पायक पर्ने स्थानमा कोठा पाउन मुस्किल भएका कारण नेपाली बिद्यार्थीहरु हैरान हुने गरेका छन्। 

बेलायतमा २०२४ जनवरीबाट डिपेन्डेन्ट भिजा समेत बन्द गरेकाले कप्पल रुम हुने हुँदा सिङ्गल गएका विद्यार्थी झनै मार्कामा पर्ने गरेका छन् । काम खोज्नका लागि बिद्यार्थीहरु जब एजेन्सी तथा कम्पनीहरूमा गए पनि पार्ट टाइम जब दिन कम्पनीहरूले अस्वीकार गर्ने हुँदा कतिपय बिद्यार्थीहरु जीवन जिउन समस्या परि नेपाल फर्किने विचारमा रहने बताइन्छ । बिदेसिने बिद्यार्थीहरुको अत्याधीक चाँप भएका कारण बेलायतको इंग्ल्याण्ड, स्कटल्यान्ड, वेल्स, नर्थन आयरल्यान्ड राज्यमध्ये इंग्ल्याण्डमा नै बढी बिद्यार्थीहरु आउने भएका कारण कोठा भाडा महँगो तथा बेरोजगारीमा वृद्धि भएको स्थानीय विद्यार्थीको तर्क छ । नयाँ विद्यार्थीका लागि कोठा खोजिदिने, जागिर खोजिदिने प्रलोभनमा कतिपयले रकम बुझाए पनि कोठा नखोजी ठगीमा पर्ने गरेका छन् । 

भक्तपुर घर भई इंग्ल्याण्ड बस्ने नेपाली रमेश आचार्यले बेलायत आउने तथा नयाँ अध्ययन गर्ने, जागिर गर्ने विद्यार्थीहरूलाई सचेत भएर बस्न आग्रह गरेका छन् ।  बेलायत सरकारले विद्यार्थी तथा विदेशी नागरिकहरूका लागि बस्ने, काम गर्ने लगायतका विषयमा नियमहरू परिवर्तन गरिरहने हुँदा विदेशबाट बेलायत आएकाहरू झनै अन्योलमा पर्ने गरेको आचार्यले बताए ।