समाचार

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा सभामुखको शुभकामना

२७ पुस, काठमाडौँ । सभामुख देवराज घिमिरले पृथ्वीनारायण शाहका दिव्योपदेशलाई आत्मसात् गर्दै सामाजिक न्याय, सुशासन र समृद्धितर्फ अघि बढ्न प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गरेका छन ।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा उहाँले शुभकामना व्यक्त गरेका हुन । “पृथ्वीनारायण शाहका दिव्योपदेश राष्ट्रभक्ति, आत्मनिर्भरता र सुशासन कायम गर्नका लागि तीनसय वर्षसम्म पनि उत्तिकै सान्दर्भिक छन”, सन्देशमा भनिएको छ, “आजको विशेष दिनमा उनका दिव्योपदेशलाई आत्मसात् गर्दै सामाजिक न्याय, सुशासन र समृद्धितर्फ अघि बढ्न प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।”

सभामुख घिमिरले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पु¥याएको योगदानको स्मरण गर्दै उनीप्रति श्रद्धासुमन अर्पण गरेका छन । साथै, आजको दिनलाई नेपालको पहिचान स्थापित भएको दिनका रुपमा समेत उनले स्मरण गरे ।

तत्कालीन गोरखाका राजा शाहले बहुआयामिक चुनौतीबीच जनताको उत्साहजनक सहयोग र सहभागितामा छरिएर रहेका बाइसे, चौबिसे राज्यलाई एकीकृत गरेका थिए । अभियानको उपलब्धीस्वरुप नेपाल विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये एक रहन पुगेको सन्देशमा उल्लेख गरिएको छ ।

“मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा रुपान्तरित भए पनि पृथ्वी जयन्तीको सान्दर्भिकता झनै बढेर गएको छ”, सन्देशमा भनिएको छ, “आजको विशेष दिनमा मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई अक्षुण्ण राख्दै सबै नेपालीको सुख र समृद्धि हासिल गर्न प्रेरणा प्रदान गर्नेसमेत विश्वास व्यक्त गर्दछु ।”