समाचार

जनप्रतिनिधिले जनमतको कदर गर्नुपर्छ : परराष्ट्रमन्त्री साउद

२८ पुस, बैतडी । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले जनप्रतिनिधिले जनमतको कदर गर्नुपर्नेमा जोड दिएका छन ।

नेपाली कांग्रेस बैतडीले आज पाटनमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रियामा मन्त्री साउदले भने, “जनताले अमूल्य मत दिएर जिताएकाले सो योगदान भुल्न हुँदैन, मतदाताले हामीलाई ठूलो जिम्मेवारी दिएका छन । त्यसैले जनमतको कदर गर्दै काम गर्नुपर्छ ।”जनताले सुम्पिएको जिम्मेवारी उनीहरूको हक, अधिकारका लागि समर्पित गर्नुपर्ने उनको भनाइ थियो ।

त्यस अवसरमा कांग्रेसका बैतडी जिल्ला सभापति चतुरबहादुर चन्द, पदाधिकारी तथा सदस्य, प्रदेशसभा, नगर, गाउँ, वडा कार्यसमितिका पदाधिकारी तथा सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि र कांग्रेसका तर्फबाट बैतडीका १० वटै पालिकामा निर्वाचित जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।