समाचार

जीर्ण अवस्थाका उद्योग पिपिपी मोडलमा सञ्चालन गर्नुपर्ने : मन्त्री रिजाल

२८ पुस, कवानपुर । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले जीर्ण तथा बन्द उद्योगलाई सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडलमा सञ्चालन गर्नुपर्ने बताएका छन ।

हेटौँडामा आज उद्योग सङ्घ मकवानपुरको २२ औँ साधारणसभा एवं अधिवेशनलाई सम्बोधन गदै मन्त्री रिजालले बन्द तथा जीर्ण उद्योग पिपिपी मोडलमा सञ्चालन नगर्ने हो भने सरकारको लगानी व्यर्थ हुने उनको भनाइ थियो । मन्त्री रिजालले औद्योगिक क्षेत्रको पूर्वाधार निर्माणका लागि सरकारले बजेट विनियोजन गरेको बताउँदै राज्यलाई गाली गरेर मात्र समृद्धि नआउने बताए ।

मन्त्री रिजालले हेटौँडा कपडा उद्योग सञ्चालनका लागि सरकारले नेपाली सेनासँग सहकार्यको तयारी रहेको जानकारी दिर्दे । उद्योगसम्बन्धी समस्या समाधानका लागि ऐन, कानुनलई समयसापेक्ष बनाउनका लागि परिमार्जन आवश्यक रहेको उनको भनाइ थियो । सरकार आवश्यक नीति, नियम तर्जुमा गर्ने, लगानीको वातावरण बनाउने, औद्योगिक सुरक्षाको प्रत्याभूति दिने, सरोकारवाला निकायबीच समन्वय गर्ने÷गराउने, करमा सहुलियत दिने, नवप्रवर्तनलाई प्रोत्साहन गर्ने नीतिसहित अघि बढेको उनको भनाइ छ ।

कार्यक्रममा नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले सरकारले उद्योगी–व्यवसायीलाई लगानीको वातावरण तयार गरिदिनुपर्नेमा जोड दिनुभयो । हालको परिस्थितिमा उद्योगी निराश बनिरहेकाले सरकारले उद्योगीलाई निर्यातमुखी उत्पादनमा प्रोत्साहन गर्नुपर्ने जनाए ।

सो अवसरमा प्रतिनिधिसभा सदस्य दीपकबहादुर सिंहले सरकारले उद्योगमैत्री वातावरण तयार गर्नका लागि नीतिगत सुधार गर्न अगुवाइ गर्नुपर्नेमा जोड दिए । बागमती प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले निकुञ्ज र मध्यवर्ती क्षेत्रका कारण उद्योगमा काम गर्न सक्ने अवस्था नदेखिएको भन्दै औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयको काम भाडा उठाउनेमात्र नभई उद्योगीलाई प्रोत्साहन गर्न प्रशासनिक प्रक्रिया सहज बनाउन जरुरी रहेको बताए ।

उद्योग सङ्घ हेटौँडाका अध्यक्ष स्वागतराज प्याकुरेल राज्यले उद्योगी व्यवसायीको समस्या तत्काल हल गरी सहज वातावरण बनाइदिन आग्रह गरे ।