लुम्बिनी

बाँकको कोहलपुरमा स्थानीय पाठ्यपुस्तक ‘हाम्रो कोहलपुर तयार

८ माघ, बाँके । कोहलपुर नगरपालिकाले स्थानीय पाठ्यपुस्तक ‘हाम्रो कोहलपुर’ तयार पारेको छ । कक्षा १ देखि ५ सम्म पढाइने सो पुस्तक नगरपालिकाको शिक्षा तथा खेलकुद शाखाले आज आयोजना गरेको कार्यक्रममा सार्वजनिक गरियो ।

यसै शैक्षिक सत्रदेखि कोहलपुर नगरपालिकाका ३१ सामुदायिक र ४९ संस्थागत विद्यालयमा ‘हाम्रो कोहलपुर’ पाठ्यपुस्तक पढाइ हुने शिक्षा तथा खेलकुद शाखाका शिक्षा अधिकृत रविलाल मिजारले जानकारी दिए ।

सात एकाइ र विभिन्न पाठ समेटेर हाम्रो कोहलपुर पुस्तक तयार पारिएको छ । जसमा कोहलपुरको परिचय, कोहलपुरमा मानवनिर्मित सम्पदाको महत्व र विशेषता, हाम्रा विकासका पूर्वाधार, हाम्रो पेशा, व्यवसाय र प्रविधि, खुसीका लागि शिक्षा र जीवनपयोगी सीप, हाम्रो वातावरण र विपद् व्यवस्थापन लगायतका बिषयलाई समेटेर पाठ्यपुस्तक तयार पारिएको विज्ञ ऋषि शर्माले बताए । स्थानीय स्रोतसाधन, स्थानीय विज्ञ र स्थानीय विषयलाई समेटेर पुस्तक तयार पारिएको उनको भनाइ छ ।

नगर प्रमुख पूर्णप्रसाद आचार्यले स्थानीय स्रोतसाधनको उपयोग र स्थानीय विज्ञको विज्ञताबाट लेखिएको पुस्तक विद्यार्थीका लागि मात्रै नभएर कोहलपुरबासीका लागि उपयोगी भएको बताउनुभयो । उहाँले कक्षा ६, ७ र ८ का लागि पनि स्थानीय पाठ्यपुस्तक तयार पारेर कार्यान्वयनमा ल्याइने बताए ।

उनले पुस्तकले स्थानीय भाषा, कलासंस्कृति, भूगोल, पर्यटन, कृषि, वातावरण संरक्षण, विपद् व्यवस्थापन, पूर्वतयारी लगायत बालबालिकालाई श्रम, सृजना र ज्येष्ठ नागरिकप्रतिको सम्मान गर्ने तरिका सिकाएको उल्लेख गरे ।

नगर उपप्रमुख सङ्गीता सुवेदीले कोहलपुरको पहिचानका लागि स्थानीय पाठ्यपुस्तक उपयोगी भएको बताउनुभयो । उहाँले आफू बसेको भूगोल, पहिचानबारे हरेक विद्यार्थीलाई जानकारी हुनु अपरिहार्य रहेको समेत बताए ।

कार्यक्रममा कोहलपुर नगरपालिका शिक्षा तथा खेलकुद शाखाका प्रमुख रामबहादुर हमाल, विज्ञहरु खोपीराम वली, सुमीत्रा न्यौपानेलगायतले पुस्तक कहिले पनि पूर्ण नहुने भन्दै आवश्यकताका आधारमा संशोधन गर्दै लैजानुपर्नेमा जोड दिए ।

सो अवसरमा पुस्तक निर्माणमा योगदान पु¥याउने विज्ञलाई सम्मान गरिएको थियो । स्थानीय पाठ्यपुस्तक तयारी गरी कार्यान्वयनमा ल्याउने कोहलपुर बाँकेमा पहिलो पालिका बनेको छ । अन्य पालिकाले मातृभाषामा पाठ्यपुस्तक तयार पारेर कार्यान्वयनमा ल्याए पनि स्थानीय पाठ्यपुस्तक भने कार्यान्वयन ल्याएका छैनन् ।