बाग्मती

अधुरा योजनालाई प्राथमिकता : मुख्यमन्त्री जम्कट्टेल

११ माघ, मनहरी । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशभित्रका अधुरा योजनालाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएको छ । आज प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले आयोजना गरेको अर्धवार्षिक समीक्षा कार्यक्रममा उहाँले बहुवर्षीय प्रादेशिक अधुरा योजना तत्काल पूरा गर्न सम्बन्धित निकायलाई निर्देशन दिए ।

“कतिपय योजना अलपत्र छन्, ती योजना पूरा गर्नूस्,” मुख्यमन्त्रीले जम्कट्टेलले भने । अधुरा योजना सम्पन्नपश्चात् नयाँ योजना बनाउन आग्रह गदै उनले अधुरा योजनाले गर्दा भुक्तानीमा समेत समस्या उत्पन्न हुँदै गएको बताए । उनले ग्रामीण क्षेत्रमा सडक विस्तारमा प्रदेश सरकार अग्रसर रहेको भन्दै परिणाममुखी काम गर्नुपर्नेमा जोड दिए ।

“हिजोको जस्तो अवस्था छैन्, अहिले धेरै विकास हुँदै गएको छ”, मुख्यमन्त्री जम्कट्टेलले भने, “हामी आवश्यक नीति र योजना बनाउँछौँ, कार्यान्वयन कर्मचारीले गर्ने भएकाले नीति र योजना अनुसार काम गरिदिनुहोला ।” उनले सम्पूर्ण काम कार्यसम्पादनको मूल्याङ्कन सरकारले गरिरहेको बताए ।

प्रदेशको ठूलो बजेट भौतिक मन्त्रालय मातहतका कार्यालयमा हुने भएकाले प्रदेश सरकारको परिणामुखी नतिजा पनि पूर्वाधार विकास कार्यालयबाट हुनुपर्नेमा मुख्यमन्त्री जम्कट्टेलले जोड दिए ।

मन्त्रालयका सचिव अमृत श्रेष्ठको अध्यक्षतामा भएको समीक्षा कार्यक्रममा भौतिक पूर्वाधारमन्त्री युवराज दुलाल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष प्राडा नरविक्रम थापालगायतको उपस्थिति थियो । कार्यक्रममा प्रदेशभित्र रहेका आठवटा पूर्वाधार विकास कार्यालय क्षेत्रका प्रगति विवरण प्रस्तुत गरिएको थियो भने मन्त्रालय मातहतका आयोजना र निर्देशनालयको समेत प्रगति विवरण प्रस्तुत गरिएको थियो ।