समाचार

शालिग्राम कालीगण्डकी करिडोर निर्माण हुँदै

१४ माघ, तनहुँ । तनहुँको घिरिङ गाउँपालिका–४ मानपुरदेखि नवलपुरको बौदीकाली गाउँपालिकासम्म जोडिने शालिग्राम कालीगण्डकी करिडोर मार्ग निर्माण भइरहेको छ । एक्काइस दशमलव पाँच किलोमिटर दूरीको उक्त मार्ग निर्माणले ग्रामीण क्षेत्रलाई तराईसँग जोड्न सहज बनाएको स्थानीय बताउँछन् ।

उक्त मार्ग ग्राभेल प्रकारको निर्माण गरिने पूर्वाधार कार्यालय तनहुँका सूचना अधिकारी धनमाया मिश्रले जानकारी दिए । “ग्राभेल किसिमको संरचनामा यो मार्ग निर्माण गरिनेछ”, उनले भने, “यसमार्ग निर्माणपश्चात् ग्रामीण क्षेत्रलाई तराईसँग जोड्नेछ भने आवागमन पनि सहज हुँदै जानेछ ।” 

निर्माण अन्तिम चरणमा पुगेको सूचना अधिकारी मिश्रले बताए । “निर्माण अन्तिम चरणमा पुगेको छ । पहिराको जोखिम रहेका केही स्थानमा निर्माण गर्न समय लाग्ने देखिएको छ”, उनले भने, “सम्झौता सकिने बेला पनि भएकाले तीव्रगतिमा काम भइरहेको छ । पहिराको जोखिम क्षेत्रमा समस्या भए समय थप्नुपर्ने हुन्छ । नत्र सम्झौता मितिमा काम  सम्पन्न हुन्छ ।”

विसं २०८१ फागुन २३ सम्ममा निर्माण सम्पन्न गर्नेगरी विसं २०७६ फागुन २३ मा निर्माण कम्पनीसँग सम्झौता भएको थियो । रू २५ करोड आठ लाख ७३ हजारमा सम्झौता भएको पूर्वाधार कार्यालयले जनाएको छ । 

यसमार्ग निर्माणले नवलपुरवासीलाई गण्डकी प्रदेशको राजधानी पोखरासम्म पुग्न सहज र छोटो हुनेछ । पृथ्वीराजमार्गअन्तर्गत पोखरा–तनहुँको शुक्लागण्डकी नगरपालिकाको दुलेगौडा–खैरेनीटार खण्डमा भिमाद–मानपुर–फुला खण्डसँग जोडिन्छ । 

शालिग्राम कालीगण्डकी करिडोर मार्गमार्फत घिरिङ गाउँपालिकाको मानपुर हुँदै नवलपुरको बौदीकाली गाउँपालिका डेढगाउँस्थित कालीगण्डकी करिडोरमा निस्कन सकिन्छ । यो मार्ग नवलपुरका लागि विशेष महत्वका रुपमा लिइएको छ ।