समाचार

संरक्षण क्षेत्रभित्रै जलविद्युत् आयोजना

१४ माघ, मनाङ। हिमाली जिल्ला मनाङमा पहिलो पटक राष्ट्रिय प्रशारण लाइनमा जोडिने गरी जलविद्युत् आयोजना निर्माण हुँदैछ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को संरक्षित क्षेत्रमा नै एक सय ३५ मेगावट क्षमताको मनाङ मस्र्याङ्दी जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।

गत मङ्गलबार बसेको मन्त्रिपरिषद्को जलविद्युत् आयोजनाको संरचना निर्माणका लागि वन क्षेत्रको जग्गा दिने निर्णय भएको आयोजनाका प्रबन्धक प्रतीक महर्जनले जानकारी दिए । यसका साथै आयोजना निर्माणका लागि वन क्षेत्रमा पर्ने एक हजार आठ सय ३९ रुख काट्न र पोल हटाउन स्वीकृति पाएको उनले बताए ।

मन्त्रिपरिषद्को बैठकबाट आयोजना निर्माणस्थलमा भएका रुख काट्न र पोल हटाउन स्वीकृति दिने निर्णय भएसँगै प्रशासनिक र कानुनी तवरबाट जग्गा प्राप्तिको कामलाई प्राथमिकता दिएको उनले बताए ।

मनाङमा पहिलो पटक आयोजना निर्माण गर्न लागिएको आयोजनाका लागि एक्यापको वन क्षेत्रमध्ये ३३ दशमलव ४७ हेक्टर क्षेत्रलफलमा निर्माण हुने आयोजनाका सहायक प्रबन्धक राजकुमार बरालले बताए । उनका अनुसार आयोजना निर्माणका लागि अन्नपूर्ण संरक्षण क्षेत्रको राष्ट्रिय वनको उक्त क्षेत्रमा आयोजना निर्माण हुनेछ ।

उनले भने, “प्रशासनिक कार्य गरिरहेका छौँ । कम्तीमा तीन÷चार महिनापछि आयोजनाको संरचना निर्माण गर्ने लक्ष्य लिइएको छ ।”

आयोजना निर्माणका लागि मनाङको सदरमुकामस्थित चामे गाउँपालिकाको १, २, ३ र ५ र नासों गाउँपालिकाको ८ र ९ नम्बर वडामा जग्गा प्राप्तिका लागि प्रक्रिया अगाडि बढाइएको आयोजनाका प्रबन्धक एवम् बुटवल पावर कम्पनीका प्रबन्धक महर्जनले बताए। उनले भने, “मन्त्रिपरिषदबाट स्वीकृति पाएका छौँ ।

अब हाम्रो कम्पनीको नाममा सार्नका लागि आवश्यक काम भइरहेको छ ।” वन क्षेत्रको जग्गा २५ वर्षसम्म आयोजनाले उपयोग गर्न पाउने गरी मन्त्रिपरिषद्बाट निर्णय भएको छ ।

मनाङ मस्र्याङ्दी जलविद्युत् आयोजनाको विकासको लागि सरकारसँग बुटवल पावर कम्पनीसहित तीन चिनियाँ कम्पनीबीच विसं २०७९ पुस ३ गते सम्झौता भएको थिए । चार वर्षमा आयोजना निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको महर्जनले बताए ।

आयोजनामा नेपाली साझेदार बिपिसीले २० प्रतिशत र तीन चिनियाँ कम्पनी एससीआईजी इन्टरनेशनल, छिङचेङ इन्टरनेशनल र चिनियाँ लगानीकर्तामा क्यूवाइसी इन्टरनेशनलले संयुक्त रुपमा ८० प्रतिशत शेयर स्वामित्व रहने गरी लगानीकर्ताबीच समझदारी भएको जनाएको छ ।

आयोजनाको कूल लागत रु ३३ अर्ब ३८ करोडमध्ये २० प्रतिशत स्वपुँजी र ८० प्रतिशत ऋण लगानी रहनेछ । आयोजना विकास सम्झौता भएसँगै चिनियाँ साझेदारले चिनियाँ बैंकबाट ऋण उपलब्ध गराउने सम्झौता भएको उनले बताए ।

आयोजनामा बुटवल पावर कम्पनीले मात्रै करिब रु एक अर्ब ३३ करोड स्वपुँजी लगानी गर्नेछ । आयोजनाले वार्षिक रु ७५ करोड नौ लाख ४८ हजार आठ सय ७५ युनिट विद्युत् उत्पादन लक्ष्य लिएको छ ।

एक सय ३५ मेगावाट विद्युत् उत्पादन गर्ने आयोजना पिकिङ रन अफ दि रिभर प्रकृतिको हुनेछ । जसबाट वार्षिक सात सय ६६ दशमलव पाँच सय ९३ गिगावाट आवरमा विद्युत् उत्पादन हुने महर्जनले जानकारी दिए ।

सम्भाव्यता अध्ययनका अनुसार यस आयोजनाको ग्रस हेड चार सय ३० दशमलव २० मिटर र हेडरेस टनेल छ दशमलव शूल्य ७५ किलोमिटर छ । आयोजनामा २० प्रतिशत बिपिसी र चिनियाँ कम्पनीको ८० प्रतिशत लगानी रहनेछ ।

आयोजनाले मनाङको चामे गाउँपालिकाको कोतोमा अर्धजलाशययुक्त ड्याम (पर्खाल) बनाउने गरी नासों–८ कम्लोमा पावर हाउस बनाउनका लागि आवश्यक कार्यालय स्थापना गरिसकेको आयोजनाले जनाएको छ । मन्त्रिपरिषद्को निर्णयसँगै वन्यजन्तु विभागलगायतका सम्बन्धित निकायसँग सम्झौता गरी विकास निर्माणको काम अघि बढाइने प्रबन्धक महर्जनले बताए । 

विश्वकै अग्लो स्थानमा अवस्थित तिलिचो ताल मुहान भएको मस्र्याङ्दी नदीबाट लमजुङको माथिल्लो मस्र्याङ्दी आयोजना, मध्यमस्र्याङ्दी जलविद्युत् आयोजना र तनहुँमा मस्र्याङ्दी जलविद्युत् आयोजनामार्फत विद्युत् उत्पादन तथा वितरण भइरहेको छ ।