समाचार

देउवा पुत्रको बिहेमा खादा माला निषेध, आर्मी अफिसर्स क्लबमा पार्टी

१४ माघ, काठमाडौँ ।  नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पुत्र जयवीर सिंह देउवाको बिहेका निम्तालुलाई फूल माला, खादा र उपहार नल्याउन आग्रह गरिएको छ।

देउवा पुत्रको बिहे माघ २१ गते बूढानीलकण्ठबाटै पारिवारिक जमघटमा हुनेछ भने भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा पार्टीको आयोजना गरिएको छ। उक्त भोटमा राष्ट्रपति, प्रधानमन्त्रीदेखि दलका नेता, उद्योगी, व्यापारी, कलाकार, पत्रकारसहित प्रतिष्ठित व्यक्तित्वहरूलाई निम्ता गरिएको देउवा निकट स्रोतले जनाएको छ।

देउवा परिवारले पठाएको निम्तापत्र अनुसार आर्मी अफिसर्स क्लबमा फागुन २ गते सोमबार भोजको आयोजना गरिएको छ। जसअनुसार निम्तालुलाई साँझ साढे ६ बजेदेखि साढे ८ बजेसम्म उपस्थित हुन भनिएको छ। त्यसअघि आफन्त र निकटस्थहरुलाई होटल सोल्टीमा पनि पार्टी दिइनेछ। देउवा तथा आरजु राणा (देउवा) पुत्र जयवीरको सञ्जीव भक्त श्रेष्ठ र प्रतिभा श्रेष्ठको छोरी शिवाना श्रेष्ठसँग हुन लागेको हो।

प्रधानमन्त्री पदबाट हटेपछि देउवा धुम्बाराहीस्थित भाडाको घरमा बस्दै आएका थिए। तर, छोरोको बिहे आफ्नै घरबाट गर्ने तयारीका साथ उनी गत माघ ३ गते बूढानीलकण्ठस्थित निवास सरेका थिए। घर मर्मतको काम सकेर उनी निवास सरेका हुन्। इन्गेजमेन्ट भएको आठ महिनापछि जयवीरसिंह र शिवाना वैवाहिक बन्धनमा बाँधिन लागेका हुन्।