समाचार

विदेशबाट फर्केर नमुना किसान बनेका भोजबहादुर

१५ माघ, बागलुङ । बागलुङको जैमिनी नगरपालिका–५ बिनामारेका भोजबहादुर बोहरा पाँच वर्ष विदेशमा बसेर स्वदेश फर्केपछि गाउँमा नमुना किसानका रुपमा परिचय बनाउँदै छन् । उनले गाईभैँसी, बाख्रा, कुखुरापालन गर्नुका साथै व्यावसायिक तरकारीखेती पनि गरिहेका छन् ।

भोजबहादुरलाई उनकी श्रीमतीले साथ दिइरहेका छन् । बोहरा दम्पतीले दुधालु भैँसी तीन, एउटा गाई, माउबाख्रा पाँच र कुखुरा १४ वटा पालेका छन् । 

बाह्रै महिना दूध बिक्री गर्ने योजनाका साथ पालेका गाईभैँसीले अहिले प्रशस्त आम्दानी दिइरहेका भोजबहादुरले बताए । दूधका साथै गोबरलाई मलका रुपमा बेचेर थप आम्दानी गरिरहेका उनको भनाइ थियो ।

बिहान उज्यालो नहुँदै बोहरा दम्पती गोठमा पुग्छन् । गोठभरिका गाईभैँसी र बाख्रालाई दानापानी दिने, दूध दुहुने, दूध बिक्रीका लागि बजार लैजाने, बारीमा खनजोत गर्नेलगायत कामले दैनिकी बित्ने गरेको बोहरा दम्पती बताउछन् ।

भोजबहादुरले तरकारीखेतीका लागि छ वटा प्लाष्टिकका घर निर्माण गरेका छन्। प्लाष्टिकका घरमा फल्ने तरकारीका लागि आवश्यक मल गोठमा बाँधेका पशुचौपायाबाट आउने गरेको भन्दै बारीमा गोलभेँडा, बन्दा, काउली, घिरौँला, करेलालगायत तरकारी फलिरहेका उनले जानकारी दिए ।

चार वर्ष माल्दिभ्स र एक वर्ष साउदी अरेबियामा काम गरेर स्वदेश फर्किएका भोजबहादुरले तरकारी खेती गर्न थालेको १० वर्ष भयो । मासिक रू ५० हजारदेखि रू ७० हजार आम्दानी हुने उनले जानकारी दिए । उनका अनुसार मासु, दूध, मल तथा तरकारी मुख्य आम्दानीको स्रोत भएको छन् ।

“विदेशमा १४ घण्टा खटेर मुस्किलले रू ४० हजार कमाइ हुन्थ्यो । अहिले परिवारसँगै बसेर, दैनिक १० घण्टा काम गर्दा विदेशमभन्दा बढी आम्दानी भइरहेको छ”, भोजबहादुरले भने, “छोराहरुको पढाइ खर्च, जीविकोपार्जन यही पेसाबाट भइरहेको छ । स्वदेशमा काम गर्ने योजना हुनुपर्छ, विदेशमाभन्दा बढी आम्दानी गर्न सकिन्छ ।”

बोहराको तरकारीखेतीको सिको गर्नेले अहिले गाउँमा एक/दुई वटा प्लाष्टिकका घरमा बनाएर तरकारीखेती गरिरहेका जैमिनी नगरपालिकाका कृषि प्राविधिक रवीन्द्र शर्माले बताए । यसरी खेती गरेर सामान्य घरखर्च चलाउनेहरु पालिकामा बढिरहेका उनको भनाइ थियो । 

बोहराले स्थानीय बाँस प्रयोग गरी प्लाष्टिकका घर बनाएको भन्दै उनले स्थानीय जातका तरकारी खेतीलाई प्राथमिकता दिने गरेकोशर्माले जानकारी दिए ।