बाग्मती

प्रदेश सरकार स्पष्ट नीतिका साथ काम गरिरहेको छ : मुख्यमन्त्री जम्कट्टेल

१८ माघ, मकवानपुर । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकार स्पष्ट नीतिका साथ काम गरिरहेको बताएका छन् । प्रदेशसभा स्थापना दिवसको अवसरमा आज हेटौँडामा आयोजित कार्यक्रममा उनले प्रदेश सरकार कुरामा मात्र नभई काममा सिद्ध भएको बताए ।

सरकारको कामले जनता सङ्घीयताका साथै यसको व्यवस्थाका पक्षमा रहेको जनाउने भन्दै उनले प्रदेशको साझा विकासका लागि सरकारले स्पष्ट नीति लिएर काम गरिरहेको बताउनुभयो । नकारात्मक टिप्पणी गरेर जनतालाई भ्रममा नपार्न उहाँले प्रतिपक्षलाई आग्रह गरे ।

मुख्यमन्त्री जम्कट्टेलले प्रदेशमा १० वटा अस्पतालको स्तरोन्नति गरिएको भन्दै उद्योग व्यवसायका क्षेत्रमा विभिन्न नीति ल्याएर कच्चापदार्थ उत्पादनमा जोड दिन प्रदेश सरकारले तयारी गरिरहेको जानकारी दिए । “प्रदेशभित्रका विद्यालयलाई आवासीय ढङ्गले सञ्चालन गरिएको छ । माध्यमिक तहमा प्राविधिक शिक्षासम्बन्धी अध्ययन गराउन तथा विश्वविद्यालय स्थापनाका लागि अन्तिम तयारीमा पुगेका छौँ”, उनले गरे ।

चिकित्सा शिक्षा नीतिको काँडेतार भत्काएर सामान्य नागरिकको पहँुच पुग्ने गरी नीति बनाएर कार्यान्वयन गर्ने पक्षमा रहेको भन्नुहुँदै मुख्यमन्त्रीले कृषि तथा उद्योग नीति निर्माण गर्ने तयारीमा रहेको जानकारी दिए । उनले भौतिक पूर्वाधारका क्षेत्रमा सरकारले आगामी वर्षमा ५० लाखभन्दा कमका योजना स्थानीय सरकारलाई दिने तयारी गरिरहेको बताए ।

प्रदेशसभा छैटौँ वर्ष पूरा गरी सातौँ वर्षमा प्रवेश गरेकामा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री जम्कट्टेलले आगामी दिनमा प्रदेशसभा अझै सुव्यवस्थित हुँदै जाने अपेक्षा व्यक्त गरे ।

प्रदेशका सभामुख भुवनकुमार पाठकको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश प्रमुख यादवचन्द्र शर्माको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा पूर्वमुख्यमन्त्री डोरमणी पौडेल, प्रमुख प्रतिपक्ष नेकपा एमालेका संसदीय दलका नेता जगन्नाथ थपलिया, कांग्रेस संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामालगायतले शुभकामना व्यक्त गरेका थिए ।