प्रदेश 1

भोजपुरमा आगलागीका कारण ६ घर नष्ट

३ चैत, भोजपुर । भोजपुर नगरपालिका–१२ टक्सारको मालबाँसेमा आगलागी भइरहेको छ । आज दिउँसोबाट लागेको आगलागीले स्थानीय बासिन्दाका घरसमेत जलेर नष्ट भएका छन् । वनमा लागेको डढेलोका कारण बस्तीमा रहेका घरसमेत जलेर नष्ट भएका हुन् ।

आगलागीबाट स्थानीय विशाल कार्कीका दुई, नरबहादुर कार्कीका दुई र पदम कार्कीको एक घर जलेर नष्ट भएको छ । बसोबास नभएको एक घर पनि जलेर नष्ट भएको स्थानीयले बताएका छन् । जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईले जङ्गलबाट सुरु भएको आगलागीका कारण स्थानीयका घरमा क्षति पुगेको जानकारी दिए ।

आगलागीबाट बसोबास गर्दै आइरहेका पाँच र खाली एक परिवारको घर जलेर नष्ट भएको सूचना अधिकारी राईले जानकारी दिए । हावाहुरीका कारण आगो बस्तीमा फैलिएको प्रहरीले जनाएको छ । आगलागी नियन्त्रणको प्रयासमा सेना, प्रहरी र सशस्त्र प्रहरीसहित स्थानीय जुटिरहेका प्रहरी निरीक्षक राईले बताए । यो समाचार तयार पारुञ्जेलसम्म आगलागी नियन्त्रणमा आउन सकेको छैन ।